कांग्रेस सभापति सुशील कोइरालाको निधन

माघ २६, काठमाडौं–पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ।

लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगंजस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए।

पछिल्लो केहीदिन देखि निमोनियाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति  कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगंज स्रोतले बताएको छ।  कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगंजमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिए।

कोइरालाले सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जिति सकेको बताउँदै आएका थिए। पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए।

यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको भएपनि विरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन्।