ललितपुर पहिलो बालश्रम मुक्त जिल्ला हुने

माघ २५, ललितपुर–ललितपुर पहिलो बालश्रम मुक्त जिल्ला हुने भएको छ । ललितपुरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेको ललितपुर उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकालाई बालश्रम मुक्त गर्नका लागि हरियो झण्डा अभियान सुरु गरिएको थियो । जुन घरमा बालश्रम छैन त्यसमा हरियो झण्डा राखेर बालश्रम अन्त्यका लागि अभियान सञ्चालित छ । २१ नम्बर वडाबाट हरियो झण्डा अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आयोजना गरेको अन्तक्र्रियामा बालश्रम मुक्त क्षेत्रका लागि सरकारी मापदण्ड पुरा गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगर पालिका प्रमुख कार्यकारी भरतमणी पाण्डेले बालमैत्री नगर घोषणाको तयारी भइरहेको जानकारी दिए ।
पाण्डेका अनुसार बालश्रम राख्ने होटल तथा रेष्टुरेण्ट र नीजि कम्पनीहरुबाट श्रमिक बालवालिकालाई पुनःस्थापित गर्ने काम तिव्र भईरहेको छ । उनले भने ‘उपमहानगर पालिकाका ५ वटा वडाहरुलाई हामी तत्काल बालश्रम मुक्त घोषणा गर्ने अभियानमा छौँ, त्यसका लागि आधारहरु तयार भइसकेका छन्’ ।