१२ औँ दक्षिण एशियाली खेलकुदःनेपालले जित्यो कास्यसहित तीन पदक

माघ २४, गुवाहाटी– भारतको गुवाहाटीमा जारी १२ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले रजतसहित तीनवटा पदक हात पारेको छ। सागको दोस्रो दिन शनिवार गुवाहाटीमा भएका विभिन्न तीन स्पर्धामा नेपालले रजदसहित दुईवटा कास्य पदक हात पारेको हो।
नेपालका लागि भारोत्तोलनमा विकास थापाले रजत पदक हात पारे। १२ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाउने क्रममा भारोत्तोलनका थापाले ६३ केजी तौल समूहको  स्पर्धामा रजत पदक दिलाएका हुन्।
थापाले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कमा १३० केजी तौल गरी कुल कूल २४२ केजी भार उठाएका थिए।  पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थापाले स्न्याचतर्फ राष्ट्रिय कीर्तिमान कायम समेत गरेका छन्। यसअघि स्न्याचतर्फ ११० केजीको कीर्तिमान थियो।
यस्तै भारोत्तोलनमै महिला स्पर्धामा देवीकुमारी चौधरीले कास्य पदक जितेकी छिन्। भारोत्तोलनको ५३ केजीतर्फ कास्य पदक जित्दै चौधरीले नेपालका लागि पहिलो पदक दिलाएकी हुन्। चौधरीले स्न्याचतर्फ ५४ र क्लिन एन्ड जर्कतर्फ ७५ केजी भार उठाएकी थिइन्।
पाँच खेलाडी सहभागी स्पर्धामा देवीले पाकिस्तानी र बंगलादेशका खेलाडीलाई पछि पारेकी थिइन्।  कास्य पदक जितेसँगै चौधरीले दक्षिण एसियाली खेलकुदको भारोत्तोलनतर्फ पदक दिलाउने पहिलो महिला खेलाडीसमेत बन्न सफल भएकी छन्।
यस्तै कुस्तीमा भने सरोज यादवले कास्य पदक जितेका छन्। उनले श्रीलंकन खेलाडी डब्लू एमसी परेरालाई पराजित गर्दै कास्य पदक जितेका हुन्।