नवीनको मूर्तिकला प्रदर्शनी सम्पन्न

माघ २४, काठमाडौ –बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार नवीन सुवेदीको १५ दिनदेखि चलिरहेको मूर्तिकला प्रदर्शनी आज सम्पन्न भएको छ ।

‘मोहिनी’ शीर्षक दिइएको उक्त प्रदर्शनीमा विभिन्न कलाकारका मूर्तिका साथै अन्य ‘न्यूड’ थिममा आधारित करिब एक दर्जन मूर्तिको प्रदर्शन गरिएको थियो ।

विशेषगरी ढुङ्गाबाट बनेका मूर्तिमा रेजीन र फाइबरको समेत प्रयोग गरिएको कलाकार सुवेदीले बताउनुभयो ।

ललितकला क्याम्पसबाट स्नातकोत्तरसमेत गरिसक्नुभएका कलाकार सुवेदीको यो पहिलो प्रदर्शनी हो । कलाकार बाबु बोगटी, ऋचा शर्मा, रामकृष्ण ढकाल, गीतकार कृष्णहरि बराल र अन्य काल्पनिक पात्रको मूर्ति तयार पारी प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनी करिब दुई हजार दर्शकले अवलोकन गरेको कलाकार सुवेदीले बताउनुभयो । कलाकार बाबु बोगटी र ऋचा शर्माको गितार लिएर बसिरहेको ‘रोमान्टिक’ मूर्ति अगाडि फोटो खिचाउने दर्शकको सङ्ख्या उल्लेख्य थियो ।