महाधिवेशनका लागि कांग्रेसले प्रतिनिधि छान्दै

माघ २२, काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको निर्वाचन आज हुँदैछ । आफ्नो पक्षमा प्रतिनिधि ल्याउन संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरु देशब्यापी रुपमा खटिएका छन् । एक निर्वाचन क्षेत्रमा १२ महाधिवेशन प्रतिनिधि छनोट हुनेछ । बहालबाला पदाधिकारी र केन्द्रीय सदस्य बाहेकले केन्द्रीय अधिवेशनमा प्रतिस्पर्धा गर्न महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनु पर्नेछ ।

क्षेत्रीय अधिवेशनले जिल्ला कार्यसमितिका सदस्यहरुको पनि निर्वाचन गर्नेछ ।  जिल्ला अधिवेशन भने २५ गते हुनेछ । जिल्ला अधिवेशनले सभापति, सचिव र कोषाध्यक्ष मात्रै निर्वाचित गर्नेछ ।

यसैबीच तराई मधेसका आठ जिल्लामा नहुने भएको छ । तराईका सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा शुक्रबार क्षेत्रीय अधिवेशन नहुने भएको हो ।

जनकपुरमा रहेका कांग्रेस संगठन विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाका अनुसार यी जिल्लाका केही क्षेत्रमा गाउँ एकाइहरुको अधिवेशन बाँकी नै  छ ।