‘ह्विलचियर नै जीवनको साथी बन्न पुुग्यो’

(अन्जली रम्तेल)

 
काठमाडौं– संसार घुम्ने र नयाँ ठाउँको बारेमा निकै चासो र जिज्ञासा बोक्ने ३० वर्षे युवा विष्णु भण्डारी एक दुर्घटनाका कारण अपाङ्ग जीवन जीउन बाध्य भए ।
काभ्रेका उनी नयाँ ठाउँमा घुम्ने क्रममा एक वर्षअघि भारतको दिल्लीमा रहेका एक साथीको घरमा बस्दा तीन तलाको भ¥याङबाट एकैपटक खस्न पुगे । ‘गर्मीको बेला थियो । हामी सबै तेस्रो तल्लामा बाहिर कौसीमा सुतेका थियौँ । राति मलाई ट्वाइलेट जान मन लागेकाले निस्कन खोज्दा एकैपटक झरेँ । त्यसपछि साथीहरु नै हस्पिटल पु¥याए तर त्यतिबेलासम्म मैले मेरो खुट्टा छ भन्ने नै अनुभव गर्न छाडिसकेको थिएँ ।’–उनले भने ।
‘संसार भ्रमण गर्न सक्छु जस्तो लाग्थ्यो’, उनले सुनाए–‘खुट्टा ठिक हुँदासम्म मैले नेपालको र भारतको धेरै ठाउँ घुमिसकेको छु । अझै कति ठाउँ घुम्ने योजना बनाएको थिएँ तर त्यो अब कहिल्यै पुरा हुन नसक्ने भयो ।‘
अहिले जोरपाटीस्थित खगेन्द्र नव जीवन केन्द्र, अपाङ्ग अस्पतालमा रहेको आवासगृहमा बस्छन् । सोमबार एक कार्यक्रममा बोधिसत्व इन एक्सन नामक संस्थाले प्रदान गरेको ह्विलचियर पाएपछि उनले भने– ‘अब त यही ह्विलचियर नै जीवनको साथी भएको छ ।’
हाल उनी त्यही आवासगृहमा रहेर विभिन्न सीपमुलक तालिम लिइरहेका छन् । हस्तकलासम्बन्धी तालिममा आफूलाई सहभागी गराइरहेका विष्णुले सरकारले अपाङ्गता भएकाहरुलाई गरेको सहयोग अपुग भएको गुनासो गरे ।
त्यही कार्यक्रममा नयाँ ह्विलचियर पाउँदा निकै खुशी देखिन्थिन् रुकुमकी २० वर्षीया धनमाया बुढामगर । २०६७ सालमा आफ्नै घरको बारीमा रहेको अम्बाको रुखमा अम्बा टिप्ने क्रममा लड्दा उनको दुवै खट्टुाले काम गर्न छाडेको थियो ।
उनलाई तत्काल स्थानीय अस्पताल र त्यसपछि काठमाडौँको टिचिङ् अस्पतालमा उपचारका ल्याएपनि उनको खुट्टा भने कहिल्यै ठिक नहुने भयो । उनी त्यतिबेला कक्षा १० मा पढ्दै थिइन् । ‘खुट्टा त्यस्तो भएपछि पढ्न पनि मन लागेन । गाउँमा खुट्टा नभएपछि स्कुल जान पनि गाह्रो हुन्थ्यो । गाउँको ठाउँमा उकालो ओरालो हुन्थ्यो त्यसैले त्यहाँ ह्विलचियर भएपनि काम लागेन ।’ त्यसपछि उनको अध्ययनले त्यही पूर्णविराम पायो ।
अहिले काठमाडौँमा ६ महिनादेखि जोरपाटीस्थित आवासगृहमा नै बसिरहेकी छिन् । उनले पनि सोमबार ह्विलचियर पाएपछि निकै खुशी लागेको प्रतिक्रिया दिइन् ।
गत वैशाख १२ गतेभन्दा अघि सबलाङ्ग जीवन बिताइरहेका सोलुखुम्बुका ३१ वर्षे सूर्यबहादुर बस्नेत त्यसपछि भूकम्पमा परी अपाङ्ग बन्न पुगे ।  भूकम्पले सबैभन्दा बढी असर पारेको काठमाडौँको साँखुमा उनी एक चिल्ड्रेन होममा कार्यरत थिए ।
भूकम्पका बेला उनी त्यही चिल्ड्रेन होममा बसिरहेका थिए । भूकम्पका बेला शौचालयमा रहेका उनी आत्तिएर बाहिर निस्कने क्रममा साबुनमा चिप्लिएर लडे । त्यसपछि के भयो उनलाई थाह छैन । तर जब उनको होस आयो त्यतिबेलासम्म उनी सबलाङ्गबाट अपाङ्ग बनिसकेका थिए ।
‘१२ गते सम्झँदा अहिले पनि दुःख हुन्छ तर आज ह्विलचियर पाएको दिन नयाँ जीवन पाएको जस्तै भएको छ ।’–उनले भने । जोरपाटीस्थित उक्त अर्थोपेडिक अस्पतालमा उपचारका साथै आवासगृहमा बसी उनी पनि सीपमुलक तालिम लिइरहेका छन् ।
दशैँ जस्तो खुशीयाली पर्वकै बेला आफ्नो खुट्टुा गुमाउन पुगेकी गुल्मीकी १९ वर्षीया झरना घिमिरेलाई नयाँ ह्विलचियर पाएपछि नयाँ ह्विलचियर नै नयाँ खुट्टा जस्तो लागेको छ । भविष्यमा मुर्तिकार बन्ने लक्ष्य लिएकी झरनाले अहिले मुर्तिकलाको तालिमलाई निरन्तरता दिइरहेकी छिन् ।
तर कहिलेकाहीँ उनलाई आफू अपाङग हुँदाको त्यो क्षण पनि याद आउँदो रहेछ । चार जना साथी दशैँमा घर पोत्नलाई रातो माटो लिन जाँदा ढिस्कोले पुरिएका थिए । दुई जना ढिस्कोभित्रै परे । एक जनाको खुट्टा उपचार गरेपछि ठिक भएपनि उनले भने सधैँको लागि ह्विलचियरलाई साथी बनाउन पुगिन् ।
कक्षा ११ मा पढ्दाको त्यो घटनाका कारण उनी दुई वर्षसम्म केही गर्न सकिनन् । अहिले भने कक्षा १२ मा पुनः भर्ना भएर उनी आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेकी छिन् ।
खेलकुदमा समेत निकै रुचि राख्ने झरना अहिले पनि बास्केटबल खेल्छिन् । नयाँ ह्विलचियरले उनलाई बास्केटबाल खेल्न निकै मद्दत गर्ने सम्झेर पनि उनी दङ्ग छिन् ।
नेपालको २०६८ को जनगणना अनुसार अपाङ्गता भएकाको जनसङ्ख्या १.९४ प्रतिशत रहेको छ ।