मानव अधिकार राष्ट्रिय कार्ययोजनासम्बन्धी छलफल

माघ १९, काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार राष्ट्रिय कार्ययोजना अनुगमन संयन्त्र निर्माण सम्बन्धमा विभिन्न सरोकारवाला निकायबीच  काठमाडौंमा छलफल गरेको छ ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदीले मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गर्ने योजना सरकारसँग रहेको बताउँदै यो योजना छिट्टै कार्यान्वयन हुने धारणा राखे ।
उनले सरकारका संयन्त्रहरु जनताप्रति उत्तरदायी नभएको भन्ने गुनासो बढिरहेको हुँदा त्यसतर्फ सम्पूर्ण सरकारी कर्मचारीहरुको ध्यान जान जरुरी रहेको बताए ।

सो अवसरमा आयोगका अध्यक्ष अनूपराज शर्माले मानव अधिकार राष्ट्रिय कार्ययोजनामा गम्भीर एवं महत्वपूर्ण विषयवस्तुहरु समेटिएपनि त्यसलाई कार्यान्वयन गर्न सरकार गम्भीर नभएको बताए  । जिल्लास्तरमा कार्ययोजनाको सम्बन्धमा  सरकारी निकायका प्रमुखहरुलाई समेत जानकारी नभएकोले कार्ययोजनाको कामले गति लिन नसकेको उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव रमेश ढकाल र मानव अधिकार आयोगका अधिकृत बद्री सुवेदीले मानव अधिकार कार्ययोजनाको कार्यान्वयन अवस्थाको सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा आयोगका सदस्यहरु प्रकाश वस्ती, मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन आयोगले एक छुट्टै संयन्त्र गठनको गृहकार्य गरिरहेको बताए ।