१२ किशोरी तथा महिला बलात्कृत

माघ १९, काठमाडौं–सञ्चारिका समूह नेपालले पुस महिनामा गरेको एक अनुगमनले उक्त महिना १२ जना किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ ।
यस अवधिमा बलात्कारसम्बन्धी २९ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।
अनुगमनमा दैनिक पत्रिकाका खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको थियो । यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक तथा अंगे्रजी दैनिकहरु द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल समेटिएका थिए ।
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो, जसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य थिए ।
पुस महिनामा हत्याका १० वटा घटना भएका थिए र हत्यासम्बन्धी ४४ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बोक्सी आरोपका ५ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारका ३ वटा घटना भएका थिए र १० वटा समाचार सामग्री प्रकाशित थिए । स्वास्थ्य अधिकार हनन्का २ वटा घटना र ४९ वटा समाचार सामग्री प्रकाशित भएका थिए । आर्थिक अधिकारसँग सम्बन्धित ३३ वटा समाचार, विचार तथा सम्पादकीय छापिएका थिए । मानव बेचबिखनसम्बन्धी ३३ र राजनितिक अधिकार हननसम्बन्धी १६ समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ । त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धी ४ वटा घटना भएका थिए र ७८ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बहुबिवाहका ६ वटा समाचार प्रकाशित भएका थिए । घरेलु हिंसाका २ वटा घटना भएका थिए र  १३ वटा समाचार सामग्री प्रकाशित भए । यो महिना दाईजो सम्बन्धि २ वटा घटना भएका थिए र ४ वटा समाचार सामग्री प्रकाशित थिए ।