वार्ता कमिटी गठन

माघ १९, काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताका लागि पार्टीका उपाध्यक्ष राजिव पराजुलीको संयोजकत्वमा वार्ता  कमिटी गठन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो कमिटिमा अर्का उपाध्यक्ष निरन्जन थापा, महामन्त्रीद्वय धवल शम्शेर राणा, राजेन्द्र लिङदेन र सह–प्रवक्ता मोहन श्रेष्ठलाई सदस्यको जिम्मेवारी दिएको छ ।
सोही बैठकले आउँदो फागुनभित्रमा पाँचै विकास क्षेत्रमा हिन्दूत्व जागरण सभा गर्ने निर्णय गरेको सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा सहभागीले पार्टी लिएका नीति तथा सिद्धान्तकाबारेमा जनतामा आशङ्का बढेकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक कार्यक्रम लिएर जनतामा जानुपर्ने सुझाव दिएका थिए ।
उक्त बैठकमा पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले सरकारले जनताको अपेक्षाअनुसारको कार्य पूरा गर्न नसकेको स्वीकार्दै आगामी दिनमा जनतालाई परिर्वतनको अनुभव हुने गरी आर्थिक तथा सामाजिक रुपान्तरणका कार्य गरिने बताए ।
यसअघि नै राप्रपाबाट बुद्धिमान तामाङको संयोजकत्वमा पार्टी एकताका लागि समिति गठन भइसकेको छ ।