संविधानले सबैका अधिकारलाई सुनिश्चित गरेको छ– काँग्रेसकी नेतृ देउवा

माघ १९, काठमाडौं– नेपाली काँग्रेसकी नेतृ एवम् सांसद डा आरजु राणाले अहिलेको संविधानले सबैका जाति तथा समुदायका अधिकारलाई सुनिश्चित गरेको बताइन् ।
‘बोधिसत्व इन एक्सन’ नामक सामाजिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अपाङ्गता भएका मानिसको अधिकारलाई संरक्षण हुनेगरी संविधान जारी गरिएको बताउँदै त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने नीति निर्माण चुनौतीपूर्ण रहेकाले सबैको दवाव र साथ सहयोगको खाँचो औल्याइन् ।
नेतृ राणाले अपाङ्गता भएका मानिसलाई अझै पनि घर तथा समाजमा लुकाउने चलन रहेको उनीहरुको प्रतिभा प्रस्फुटन गर्न उनीहरुलाई समाजमा पुनःस्थापना गरी व्यवसायिक ज्ञान तथा सिप प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका परियोजना प्रमुख सुगम भट्टराईले अपाङ्गता भएका मानिसलाई हिडडुल गर्न सहयोग गर्ने उद्देश्यले उनीहरुलाई आफ्नो संस्थाले विभिन्न समयमा ह्वील चियर वितरण तथा अन्य सहयोग उपलब्ध गराउदै आएको बताए ।
अधिकारकर्मी चुडामणि पौडेलले अपाङ्गता भएका मानिसलाई सार्वजनिक यातायातको प्रयोगमा तथा  सार्वजनिक स्थलमा आवत जावत गर्न समस्या हुने हुँदा उनीहरुको भावनालाई कसैले पनि चोट पु¥याउन नहुने बताए ।
बोधिसत्व इन एक्सनका परियोजना व्यवस्थापक नवाङ छिरी शेर्पाले अपाङ्गता भएका ४२ जनालाई ह्वील चियर वितरण गरिएको जानकारी दिँदै त्यसले उनीहरुको दैनिक जीवनमा सहयोग हुने विश्वास व्यक्त गरे ।
अपाङ्गता क्षेत्रमा क्रियाशील छबीरमण पोखरेलले अबका संरचना अपाङ्गमैत्री निर्माण हुनुपर्नेमा जोड दिए ।