खुल्यो सभागृह, शुल्क महंगो

माघ १७, काठमाडौ– काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको सभागृहको मुख्य हलमा अब सार्वजनिक समारोहको आयोजना गर्न पाइने भएको छ। ६ महिनादेखि सभागृहमा रहेको काठमाडौं महानगरपालिकाको मूख्य कार्यालय सरेपछि सो हललाई भाडामा दिन लागिएको हो।

ग्त मंसिर १० र ११ गते १८ औँ सार्क शिखर सम्मेदलन आयोजना गरिएको सभागृह भवनलाई पुनः भाडामा दिन लागिएको हो। महानगरपालिकाले राष्ट्रिय सभागृहको प्रयोग, सञ्चालन विधि र मर्मतसम्भार निर्देशिका २०७२ जारी गरेर भाडामा दिने व्यवस्था गरेको हो।

नेपाल सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय सभा, सेमिनार, गोष्ठी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सव र विभिन्न संघसंस्थाका अधिवेशन, महाधिवेशन लगायतका कार्यक्रम सञ्चालन गर्न सभागृह प्रयोग गर्न पाइने व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाका निर्देशक सनतकुमार थापाले जानकारी दिए।

बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति १० बजेसम्म भाडामा दिने व्यवस्था महानगरपालिकाले मिलाएको छ। सेवा लिनोले प्रति दिन कार्यक्रम आयोजना गर्दा १ लाख ५० हजार, विहानको आधा दिनका लागि ८० हजार र बेलुकीको आधा दिनका लागि ९० हजार रुपैयाँ तोकिएको छ।
शुक्रबार बेलुका र शनिबार सञ्चालन हुने कुल सेवाको २० प्रतिशत रकम थप लाग्ने उल्लेख गरिएको छ।(नेपाल समाचार पत्र दैनिकबाट)