धामीमा भन्दा डाक्टरप्रति विश्वास बढ्यो जाजरकोटवासीको

माघ १४, जाजरकोट–जाजरकोटमा हिजोआज मानिस बिरामी हुनेबित्तिकै स्वास्थ्य संस्थामा जाने क्रम बढेको छ ।
पहिले पहिले बिरामी पर्नेबित्तिकै धामीझाँक्रीकोमा धाउनेहरु अहिले उनीहरुको विश्वास गर्न छोडी उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र यसका मातहतका कार्यालयमा आउनेको सङ्ख्या बढेको छ ।

बच्चा तथा ठूलो मानिस बिरामी हुनेबित्तिकै धामीझाँक्रीलाई देखाउने चलन बिस्तारै कम हुँदै गएको स्थानीयवासीले बताएका छन्। धामी र झाँक्री बिरामी भए पनि स्वास्थ्य संस्थामा उपचारका लागि ल्याएको देख्दा आफूहरु पनि बिरामी हुनेबित्तिकै स्वास्थ्य संस्था पुग्ने गरेको दह–३ की कलावती पुनले बताइन्।

स्वाइन फ्लुको समयमा धामीझाँक्रीलाई देखाउँदा आफ्नो श्रीमान् झन् बिरामी परेको र उपचारका लागि स्वास्थ्य संस्था लिएर गएपछि मात्र संचो भएको पुनले बताइन्। जिल्लाका ग्रामीण क्षेत्रमा बिरामी हुनेबित्तिकै स्वास्थ्य संस्था जानुभन्दा पहिले धामीलाई देखाउने चलन बिस्तारै कम हुँदै गएको वीरेन्द्र ऐश्वर्य उच्चमावि लिम्सा रोकाय गाउँका प्राचार्य गोरखबहादुर सिंहले बताए।

दुर्गम स्थानमा रहेको टाँलेगाउँ स्वास्थ्य चौकीका इन्चार्ज प्रेमा लामा भन्छन्,“ एक वर्षपहिले उपचार गर्न आउने बिरामीको सङ्ख्या धेरै कम थियो, अहिले दिनमा १५ देखि माथि उपचारका लागि आउने गरेका छन्।”

स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य संस्थामा कुपोषित भएका बालबालिका बढी आउने गरेका छन्। सन् २००९ देखि २०१५ सम्म जाजरकोटमा एक हजार ८७६ जना कुपोषित बालबालिकाको उपचार भएको सिग्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका सुशील शाहीले जानकारी दिए।

जनचेतना बढेसँगै कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याएर उपचार गर्नेको सङ्ख्या बढेको हो । जाजरकोटमा १५ वटा स्थानमा कुपोषित बालबालिकाको उपचारात्मक खाना दिएर उपचार गरिन्छ।