‘सूचनाको हकको पक्षमा’ सार्वजनिक

माघ १२, काठमाडौ–सूचनाको हकका बारेमा जनतामा पर्याप्त जानकारी दिने उद्देश्यले प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले लेख्नुभएको ‘सूचनाको हकको पक्षमा’ आज सार्वजनिक गरिएको छ ।
मिडिया इन्टरनेशनलको आयोजनामा भएको सो कार्यक्रममा सूचनाको हकको अभियन्ता धर्मेन्द्र झा, तारानाथ दाहाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, सूचना आयुक्तद्वय यशोदा तिम्सिना, किरण पोखरेल र लेखक बाँस्कोटाले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।
टिप्पणीकारका रुपमा रहनुभएका अभियन्ता झाले ४७ शीर्षकमा रहेको उक्त पुस्तकका विषयवस्तु सूचना आयोगकै वरपर घुमेको बताउँदै अत्यन्त सरल भाषामा लेखिएकाले पाठकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे ।
पत्रकार महासङ्घका अध्यक्ष विष्टले उक्त पुस्तकले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि पनि महत्वपूर्ण हुने विचार व्यक्त गर्दै जनतामाझ सूचना प्रवाह गर्ने र पहुँच बढाउने कामका लागि आयोगले अझै मेहेनत गर्नुपर्ने देखिन्छ भने ।
सूचनाको हकको अभियन्ता दाहालले सूचनाको हकसम्बन्धी पर्याप्त भ्रम रहेकाले त्यसलाई चिर्न यस्ता पुस्तक अझै आउनुपर्नेमा जोड दिए  ।
आयुक्त पोखरेलले भ्रष्टाचार न्यूनीकरण नभई सूचनाको हकको कार्यान्वयन हुन नसक्ने भन्दै यसका लागि जनतालाई सूचनाको हकबारे सु–सूचित गराउनु आवश्यक रहेको बताए ।
अर्का आयुक्त तिम्सिनाले जनतालाई सूचनाको हकबारे जानकारी दिन उक्त पुस्तक कोसे ढुङ्गा साबित हुने बताउँदै जनताले यस हकबारे जानकारी नपाएसम्म यो हक कार्यान्वयन हुँदैन भनिन् ।
प्रमुख आयुक्त तथा पुस्तकका लेखक कृष्णहरि बाँस्कोटाले आफू नेपाल सरकारको सचिव पदमा रहँदा सूचना प्रवाह गरेकै आधारमा प्रचारमुखी सचिव भन्ने आरोप लाग्ने गरेको स्मरण गर्दै यस पुस्तकका माध्यमबाट आफू सूचनाको हकको अभियानमा कुन स्थानमा पुगेछु भन्ने थाह पाउन पुस्तक लेखेको बताए ।
उक्त पुस्तकमा सूचनाको अधिकारमा सार्वजनिक निकायको भूमिका, सुशासन र सूचना अधिकारीको भूमिका, यसका चुनौति र संभावनालगायतका विषयलाई उठान गरिएको छ भने अर्को एक शीर्षकमा एक वर्षको अवधिमा आयोगले गरेका कामकार्वाहीलाई डायरीका रुपमा प्रस्तुत गरिएको छ ।