शिक्षामन्त्रीका रुपमा पोखरेलका १०० दिन

माघ १२, काठमाडौँ– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय आयोग गठन गरी नयाँ शिक्षा नीति निर्माण गर्ने बताए ।
आफूले शिक्षा मन्त्रीका रुपमा नेतृत्व लिएको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
मन्त्री पोखरेलले १०० दिनमा आफूले गरेका काम कारवाहीको जानकारी गराउँदै प्राकृतिक प्रकोप र विभिन्न आन्दोलनका कारण प्रभावित पढाइ दिन पुरा गराउन विशेष कार्ययोजना समेत स्वीकृत भइसकेको बताए ।
मन्त्री पोखरेलले पदाबहाली गर्ने बित्तिकै आफ्नो कार्यकालमा गर्ने कार्यलाई मङ्सिर ४ गते कार्यक्रम गरी अवधारणापत्रका रुपमा सार्वजनिक गरेका थिए ।
आन्दोलनका कारण तराई मधेश क्षेत्रमा एसएलसी परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि टेलिभिजन तथा रेडियो नेपालबाट तयारी कक्षा समेत सञ्चालन थालिएको छ । यसैगरी यसै वर्षदेखि एसएलसी परीक्षामा ‘लेटर ग्रडिङ्’ (अक्षराङ्क प्रणाली) लागु गर्ने तयारी समेत भइसकेको छ ।