मधेसी मोर्चा नाका अबरोध फिर्ता लिन दबाबमा

माघ ११, काठमाडौं– संविधानप्रति असहमति राख्दै आन्दोलनरत मधेसी मोर्चा संविधान संशोधनसँगै सीमा नाकामा अवरोध लगायत कार्यक्रम फिर्ता लिन दबाबमा परेको छ। साउन ३१ देखि मधेस हड्ताल थालेको मोर्चाले असोज ६ देखि जारी नेपाल–भारत सीमा नाका धर्ना दिंदै आएको छ।

आन्दोलन थाल्ने बेला मोर्चाले अघि सारेका ४ मुख्य मागमध्ये संविधान संशोधनबाट दुई वटाको सम्बोधन भए पनि चार घटक संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना र तमसपा मधेसमा दुई प्रदेश हुनेगरी प्रदेशको सीमांकन हेरफेर हुनुपर्ने अडानमै छन्।

कांग्रेस–एमाले र एमाओवादीले मोर्चाले माग्दै आएको समानुपातिक प्रतिनिधित्वको प्रणाली र जनसंख्याका आधारमा चुनाव क्षेत्र निर्धारण गर्न संविधान संशोधनसहित पारित गरे पनि मोर्चाका ३४ सांसदको संसद–अवरोध र नाराबाजी यथावत् रह्यो। मोर्चा नेताहरुले आन्दोलन नटुंगिने जिकिर गरेका छन्, तर औपचारिक संयुक्त निर्णय लिइएको छैन।(कान्तिपुर दैनिकबाट)