एकसाताभित्र पेट्रोल र डिजल सहज हुन्छः आयल निगम प्रवक्ता

माघ ९, काठमाडौ– नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले आगामी एक साताभित्र पेट्रोल र डिजेलको सहज वितरण हुने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले देश भरिका आयाल निगमका डिपोलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेको जानकारी दिदै त्यहाँबाट आएपछि सबै पेट्रोल पम्पबाट निश्चित परिणाममा सहज रुपमा वितरण गर्ने बताए ।
प्रवक्ता घिमिरेले भने,‘ बाहिरका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेका छौ । विराटनगरबाट तेल हिडिपनि सकेको छ । तीन लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजल सबै पम्पबाट केही दिनमै वितरण गर्छौ । आगामी सातादेखि सहज हुन्छ ।’
उनले भारतीय आयल निगमले तत्काल ग्यासको लोडिङ्ग बढाउन नसक्ने जवाफ दिएकोले तत्काल ग्यास सहज नहुने भन्दै नयाँ निर्णय नहुन्जेलसम्म ७ दशमलब १ किलोकै सिलिण्डर वितरण गरिने जानकारी दिए ।
घिमिरेले भने,‘ दिनको ५५ बुलेट ग्यास आवश्यक पर्नेमा अहिले १५ बुलेट भन्दा बढी लोड दिएको छैन । त्यो भन्दा बढी दिन नसक्ने आईओसीले तउँदै आएको छ । त्यसैले ग्यास वितरणमा तत्काल सुधार आउँदैन ।’
उनले ग्यास ब्यवसायीहरुले पुरा सिलिण्डर विक्री गर्न लागेको भन्ने जिज्ञासामा तत्काल आयात नबढेको र ७ दशमलब १ किलोको सिलिण्डर वितरण नगर्ने निर्णय नभईसकेकोले तत्काल १४ दशमलब २ किलोको सिलिण्डर विक्री नहुने स्पष्ट पारे ।
पेट्रोलियम पदार्थको मुल्य समायोजन सम्बन्धमा घिमिरेले डलरको मुल्य बढेको, भारतीय आयल निगमले दिएको पछिल्लो मुल्य र सीमा क्षेत्रको मुल्यको आधारमा मुल्य घटाईएको भन्दै अहिले पनि भारतीय सीमा क्षेत्रको मुल्य भन्दा नेपालमै सस्तो भएको तर्क गरे ।
ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पुरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिदै सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पुरै सिलिण्डर वितरण गर्ने बताए ।
उनले भने,‘ पछिल्लो दुई–तीन सातामा मागको ४० प्रतिसत ग्यास आयात भएको छ । आधा सिलिण्डर ग्यास वितरण गर्दा ढुवानी, उत्पादन खर्च बढेको छ । सरकारले त्यो बढेको खर्च दिने हो भने मात्रै हुन्छ नभए हामी पुरा सिलिण्डर वितरण गर्न थाल्छौ । हामीले आन्तरिक रुपमा निर्णय गरिसकेका छौ ।’
घिमिरेले माग र आपूर्तिवीचको खाडल ठूलो हुँदा गलत मान्छेले फाईदा उठाउने सम्भावना बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकार निरिह बनेको र उपभोक्ताहरु पनि सचेत नभएको गुनासो गरे ।
कम ग्यास आएको भन्ने गुनासोमा उनले प्रत्येक डिलरले तराजु राख्नु पर्ने र उपभोक्ताले पनि तौलेर मात्र लिने बानी बसाए त्यसको समस्या हुने दावी गरे ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले सरकार आफैले बजारमा विकृत ल्याउने र कालाबजारीलाई साथ दिईरहेको भन्दै सरकारले जे उपलब्ध छ त्यसको न्यायोचित वितरण गर्नुपर्ने धारणा राखे । उनले नियमनकारी निकाय असक्षम हुँदा मुलुकमा कालोबजारी बढेको भन्दै अहिलेको अवस्थामा राज्य संयन्त्र नै असफल भएको दावी गरे ।