उपाधिका लागि आज नेपाल र बहराइन भिड्ने

माघ ८, काठमाडौं –नेपालले बङ्गबन्धु गोल्डकप फुटबलको उपाधिका लागि आज बहराइनसँग भिड्दैछ ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुका ४ बजेर ४५ मिनेट जाँदा हुने फाइनल भिडन्तमा नेपाल उपाधि हत्याउने दाउका साथ मैदान उत्रिनेछ।

माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्। उनले फाइनलमा अझै सुधारिएको खेल खेल्नेमा आफू ढुक्क रहेको समेत बताएका छन्।

महर्जनले फाइनल जिते नेपाली फुटबल खेल क्षेत्रको स्वरुप नै बदलिने दाबी समेत गरेका छन्। उपाधि जित्नेमा खेलाडी आत्मविश्वासी भएकाले राम्रो खेल पस्किने उनको भनाई छ।

नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल यता शुक्रवार पहिलो पटक अन्तर्राष्ट्रियस्तरको उपाधिका लागि बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो।

बहराइनलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाए नेपालले १७ वर्ष पछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि उचाल्ने छ।