किन भएन सहमति?

 

माघ ५,काठमाडौं – प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न ५ बजे तीन दलको शीर्ष नेताहरूको एक घन्टासम्म बैठक बस्यो ।

त्यसपछि शीर्ष नेतासहित तीन दलको कार्यदल र मधेसी मोर्चाको कार्यदलबीच वार्ता भयो । आधा घन्टाजति संयुक्त बैठक बसेपछि तीन दलका शीर्ष नेता बाहिरिए र कार्यदलको मात्रै बैठक बसेको थियो ।

मोर्चाले ‘तत्काल तराई–मधेसको सीमांकन परिमार्जन गरिने’ शब्दावली राख्नुपर्ने अडान लिएको छ । तर, तीन दल तयार नभएपछि सहमति हुन सकेन । मोर्चाले तत्काल तराईमा दुई प्रदेश मान्न प्रमुख दल तयार हुनुपर्ने माग गरेको थियो । तर, मोर्चाको माग तीन दलले अस्वीकार गरेका थिए ।

त्यसपछि राजनीतिक संयन्त्र गठन गर्दा ‘तत्काल तराई–मधेसको सीमांकन परिमार्जन गरिने’ शब्दावली राख्नुपर्ने मोर्चाले अडान लिएको थियो । वार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले धेरै विषय सहमतिनजिक पुगेको बताए । सेनालाई समावेशी बनाउने, नागरिकताको मुद्दा सम्बोधन गर्ने, भाषाबारे भाषा आयोगले दिएको प्रतिवेदनअनुसार जाने, सामाजिक न्यायका सम्बन्धमा क्लस्टर हटाउने–घटाउने र सीमांकनको प्रतिवेदन तीन महिनाभित्र तयार गर्ने भन्नेमा समझदारीनजिक पुगेको उनले जानकारी दिए । विगतका सम्झौताका आधारलाई सन्दर्भसामग्रीका रूपमा राख्न तीन दल तयार रहेको पनि उनले बताए ।(नयाँ पत्रिका दैनिकबाट)