जाली राहदानीमा नेपाल हुँदै युरोपेली देश

माघ ५,काठमाडौं – सरकार र विद्रोही समूहबीच द्वन्द्वले बाँच्नै कठिन भएपछि सिरियाली नागरिक जाहान अब्दुल करिम अमेरिका जाने सपनामा त्रिभुवन विमानस्थलमा उत्रिइन् । मानव तस्करमा सक्रिय समूहले उनलाई युरोप जान सहज हुन्छ भन्दै विभिन्न देश हुँदै नेपाल ल्याएको थियो । विमानस्थलमा उत्रिएको उनको राहदानी जाँच गर्दा अर्कैको राहदानीमा आएको खुलेपछि उनकै देश फर्काइयो ।

विमानस्थलमा रहेको अध्यागमन विभागको कार्यालयले उनलाई नियन्त्रणमा लिएर कालिकास्थानमा रहेको अध्यागमन पठायो । अध्यागमनको सिफारिसमा गृह मन्त्रालयले उनलाई पाँच वर्ष नेपाल आउन नपाउने गरी निकाला गरिदियो ।

मानव तस्करीमा सक्रिय दलालको फन्दामा परेर इरानी नागरिक तोहिद ताहेरी पनि जहानाझैं त्रिभुवन विमानस्थल आइपुगे । नेपालमा आएर शरणार्थीको माग गरी तेस्रो देश जान उनी २ वटा राहदानीसहित नेपाल आएका थिए । अध्यागमन अधिकारीको सजगताका कारण उनी युरोप होइन, नेपाल आउनै नपाउने गरी आफ्नै देश फर्काइए ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१५ मा नेपाल आएका यस्तै ३सय २६ जना विदेशी नागरिक नेपाल निकालामा परेका छन् । जसमा भिसाको म्यादभन्दा बढी बसेका पछि युरोप अमेरिका जान जाली राहदानीमा आउनेको संख्या उल्लेख्य छ । (नागरिक दैनिक)