जागिरको प्रलोभनमा सामूहिक बलात्कार

माघ ५, काठमाडौँ–जागिरको सपनामा काठमाडौं छिरेकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। चिनजानकी दिदीको सहयोगमा धनगढीबाट काठमाडौं आएकी २० वर्षीया युवती भोलिपल्टै सामूहिक बलात्कारमा परेकी हुन्।

२६ पुसमा नयाँ बसपार्कको शुभकामना गेस्ट हाउसमा युवतीको बलात्कार भएको हो। धनगढीकै ४० वर्षीया दुर्गादेवी रतलाले जागिर लगाइदिने भन्दै उनलाई गेस्ट हाउसमा राखेर युवकहरुसँग जबरजस्ती सम्बन्ध राख्न लगाएकी थिइन्। आफूलाई गेस्ट हाउसमा पाँचजनाले बलात्कार गरेको पीडित युवतीले प्रहरी समक्ष बताएकी हुन्।

रतलाले युवतीलाई गत २४ पुसमा काठमाडौं ल्याएकी थिइन्। पहिलो दिन उनी एक्लै गेस्ट हाउसमा बसेकोमा भोलिपल्ट जागिरका लागि कुरा गर्न भन्दै रतलाले शुभकामना गेस्ट हाउस पुर्याएकी थिइन्। गेस्ट हाउसको कोठाभित्र पाँच जना युवक बसिरहेका थिए। युवतीलाई त्यहाँ पुर्याएर बाहिरबाट चुकुल लगाइदिएर रतला हिँडेकी थिइन्।

वेश्यवृत्तिमा लगाउने योजनाः प्रहरी

प्रहरीले रतलाले ती युवतीलाई जागिरको प्रलोभनमा बेश्यावृत्तिमा लगाउन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रतलासहित दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको महिला तथा बालबालिका सेल काठमाडौंकी प्रमुख इन्सपेक्टर पूर्णिमा चन्दले बताइन्। (नयाँ पत्रिका दैनिकबाट)