अपाङ्गतासम्बन्धी आचारसंहिता बन्दै

–अन्जली रम्तेल

पुस २९, काठमाडौँ–अपाङ्गता भएका व्यक्ति र उनीहरुका विषयमा सञ्चारमाध्यममा प्रकाशित, प्रसारित हुने समाचारमा जथाभावी शब्दको प्रयोग हुन थालेको भन्दै प्रेस काउन्सिलले सम्बन्धित निकायसँग छलफल गरी अपाङ्गतासम्बन्धी आचारसंहिता निर्माण कार्य थालेको छ ।

उक्त आचारसंहितासम्बन्धी तयार भइसकेको मस्यौदामाथि आज छलफल तथा सुझाव प्रस्तुत गरियो । प्रेस काउन्सिल नेपाल, राष्ट्रिय अपाङ्ग महासङ्घ, माइ राइट्स नामक संस्था, नेपाल अपाङ्ग मानवअधिकार केन्द्रलगायतका संस्थाको सहकार्यमा आज आयोजना गरिएको ‘अपाङ्गता भएका व्यक्तिलाई सञ्चारमाध्यममा प्रस्तुत गर्न आचारसंहितासम्बन्धी परामर्श गोष्ठी’मा सरोकरवालाले सुझाव समेत दिएका थिए ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता बिन्दुले प्रस्तुत गरेको उक्त मस्यौदा आचारसंहितामा आचारसंहिताको आवश्यकता, अपाङ्गता भएका व्यक्तिसँग सञ्चार गर्दा सञ्चारमाध्यमले अपनाउनुपर्ने तरिका, आलेख वा श्रव्यदृश्य बनाउँदा अपनाउनुपर्ने तरिका, अपाङ्गता भएका व्यक्तिसँग अन्तर्वार्ता लिँदा अपनाउनुपर्ने तरिकालाई उल्लेख गरिएको छ ।
यसैगरी अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्दा हाल चलन चल्तीमा रहेका र अब उप्रान्त प्रयोग गर्नुपर्ने शब्दावली, अपाङ्गता भएका व्यक्तिलाई होच्याउने वा बोल्न नहुने उखान टुक्का, अपाङ्गतालाई होच्याउने उपमा र व्याख्या, बोलीचालीमा ल्याउन नहुने शब्दलाई प्रस्तुत गरिएको थियो ।
यस्तै अहिले सञ्चारमाध्यममा विशेष गरी छापावाल पत्रपत्रिकामा कार्टुनिस्टहरुले अपाङ्गतालाई प्रमुख व्यङ्ग्य बनाएर सामाग्री निर्माण गर्न नहुने, साहित्यिक सिर्जनामा अपाङ्गतासम्बन्धी शब्दको चयन गर्दा ख्याल गरिनुपर्नेमा आचारसंहिताले जोड दिएको छ । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘लङ्गडाको हात्ती’, ‘अन्धाको साथी’, ‘पागलबस्ती’ जस्ता साहित्यिक कृतिले अपाङ्गता शब्दलाई सांकेतिक रुपमा राखेकोप्रति विरोध जनाएको छ ।
हालसालै प्रदर्शनीमा आएको ‘लाटी’ नामक चलचित्रलाई प्रदर्शनीमा रोक लगाउनुपर्ने अवस्था आएको प्रति समेत कार्यक्रममा ध्यानाकर्षण गराइएको थियो ।
कार्यक्रममा विभिन्न अपाङ्गता भएका सहभागीले अपाङ्गतासम्बन्धी आचारसंहिता आउनुलाई अत्यन्त सकारात्मक रुपमा लिएपनि अझै ‘भकभके’ समस्या, हाँस्य टेलिश्रृंखलामा अपाङ्गतालाई मजाकको पात्र बनाइने प्रवृत्तिको विरोध गरेका थिए ।
उक्त आचारसंहिता तयार गर्ने कार्यदलमा काउन्सिल अध्यक्ष कार्की, महासङ्घ उपाध्यक्ष बिन्दु, अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी, महिला अपाङ्ग सङ्घका अध्यक्ष निर्मला धिताल र अपाङ्ग मानवअधिकार केन्द्रका अध्यक्ष जगदिश अधिकारी रहेका छन् ।
प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले पत्रकार आचारसंहिता पुनरावलोकन गर्ने क्रममा रहेको बताउँदै अपाङ्गता सम्बन्धमा आचारसंहिता आवश्यक रहेको छ भने ।
अपाङ्मैत्री वातावरण निर्माणका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले भने –‘यसो भएको खण्डमा अपाङ्गता भएका व्यक्तिले समेत मुलुक निर्माणमा योगदान पु¥याउन सक्छन् ।’ ‘हाम्रो सामाजिक मूल्य, मान्यता र व्यवहार अपाङ्गमैत्री छैन’, उनले थपे –‘यसले गर्दा सानैदेखि अपाङ्गता भएको व्यक्तिले आफूमा भएको प्रतिभा ल्याउन सक्दैन ।’
पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घ अपाङ्गता भएका व्यक्तिलाई सञ्चारमाध्यममा कसरी प्रतिनिधित्व गराउने भन्ने सदैव सचेत रहेको बताए ।
‘समाचारमा प्रयोग हुने भाषा, शैली अपाङ्गमैत्री बनाउनुपर्छ’ भने –‘पत्रपत्रिकामा अपाङ्गतालाई लिएर उठाइने त्यस्ता विषय कहिलेकाही अज्ञानतावश हुन्छ भने कहिले नियतवश हुन्छ । त्यसैले यसलाई आचारसंहिता बनाएरै लागु गरिनुपर्छ ।’
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव हुमकला पाण्डेले सैद्धान्तिक ज्ञानको अभावका कारण अपाङ्गतासम्बन्धी शब्दलाई गलत रुपमा प्रयोग भइरहेको बताउँदै अबका दिनमा त्यस्ता गल्तीलाई सुधार्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासङ्घका अध्यक्ष सुवेदी र मानवअधिकार केन्द्रका अध्यक्ष अधिकारीले अपाङ्गताका विषयमा सञ्चारमाध्यमले उठाउने विषयप्रति सञ्चारकर्मी सचेत हुँदा यसले सिंगो समाजलाई नै सचेत बनाउनेछ भने ।