कैदीबन्दीको उद्धार गर्न माग

पुस २९, काठमाडौँ–भूकम्पले जीर्ण बनाएका कारागारमा असुरक्षित बनेका कैदीबन्दीको उद्धार गर्नुपर्ने उनीहरुका आफन्तले माग गरेका छन् ।

पीडित कैदीबन्दी परिवार केन्द्रीय समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारले देशभरका १७ हजार कैदीबन्दीलाई भूकम्पले जीर्ण बनाएको कारागारमा राखी उनीहरुलाई असुरक्षित बनाएको आरोप लगाए ।

समितिका केन्द्रीय अध्यक्ष जीवन रायमाझीले बन्दीलाई सरकारले आम माफी नदिए पनि सामान्य अपराध र बिना कसुर थुनामा रहेकालाई कम्तिमा मुक्त गर्ने बाटोमा अघि बढ्नुपर्छ भने ।

सरकारले भुकम्पबाट जिर्ण बन्दी गृहहरुमा नै बस्न बाध्य पार्नाले मृत्यु कुरेसरह बनाएको भन्दै उनले यो विषम परिस्थितिमा १७ हजार कैदीबन्दीले आत्मदाह गर्ने अवस्था सिर्जना हुँदै गएको बताए ।

समितिका उपाध्यक्ष यमुना रोकाले सरकारको बेवास्ताका कारण कारागारमा बन्दीले कष्टकर र नारकीय दैनिक जीवन मात्र नभई उनीहरुले जोखिमपूर्ण संरचनामा बस्नुपर्ने बाध्यतामा पु¥याएको आरोप लगाए ।

समितिका चितवन जिल्ला अध्यक्ष रामबहादुर तामाङले भूकम्पपछि कैदीबन्दीको मानसिक यातनामा वृद्धि भएको बताउँदै सरकारले नयाँ संविधान घोषणा गरेपछि राष्ट्रपतिले सजायमा छुट दिने घोषणा गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन भने ।
गत वैशाख १२ र त्यसपछिका भूकम्पले कारागार भवन भत्किएर मृत्यु हुने १६ कैदीबन्दीका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचार गर्नुपर्ने माग समितिले गरेको छ । भूकम्पले चर्किएका भवनमा जोखिमपूर्वक कैदीबन्दी रहेकाले उनीहरुलाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा सार्नुपर्नेमा समितिले जोड दिएको छ ।