एउटा अक्षम्य अपराधको यो समाचार

पुस २९, काठमाडौँ– सम्बन्ध र भनसुनका आधारमा चल्ने अख्तियारले केही दलका नेतालाई छानीछानी १३ पाने फर्म भर्न बोलाएको छ । तर, उसले छुन नमिल्ने कांग्रेस सभापति सुशील कोइराला अध्यक्ष रहेको जननायक विपी कोइराला मेमोरियले ट्रष्टले नेपालका भूकम्पपीडितको नाममा अनुदानस्वरुप आएको सवारी साधन करोडौं रुपैयाँमा बेचेको पाइएको छ ।

विनाकुनै दुरुपयोग भूकम्पपीडित नेपालीको राहत र उद्दारमा सहयोग पुगोस् भन्ने उद्देश्यसाथ बेलायत सरकारले सात गाडी जननायक विपी कोइराला मेमोरियल ट्रष्टका नाममा दिएको थियो ।

बेलायत सरकारले नागरिक स्तरीय सहयोग कार्यक्रमअन्तर्गत तत्कालीन प्रधानमन्त्री नै अध्यक्ष रहेको बिपी ट्रष्टले ती गाडीमा ‘पिपुल इन युके डोनेटेड टु अर्थक्विक भिक्टिम्स इन नेपाल’ लेखिनुपर्ने शर्तसहित गाडी त दियो, तर आएकै दिन गाडी दर्ता गर्ने र उसैदिन अर्का व्यक्तिलाई बेचिदिने धन्दा नै चल्यो ।

ती सातमध्ये बा१३ च ६४२४ नम्बरको जिपको बिक्रीसम्बन्धी अभिलेख नै प्राप्त भएको आजको जनआस्था साप्ताहिकमा खबर छ । सहयोगमा प्राप्त गाडीलाई भन्सार छुटको व्यवस्था छ ।

भन्सारमा एक रुपैयाँ तिर्नुनपरेको जिप आउनासाथ बेलायती सरकारद्वारा जारी सहयोग सम्बन्धी कागजी विवरणका आधारमा यातायात व्यवस्था कार्यालय सातदोबाटोमा दर्ता भयो, जननायक विपी कोइराला स्मृति ट्रष्टका नाममा । ०७२ भदौ २८ गते ट्रष्टले दर्ता गरेको उक्त गाडी उसै दिन अर्को व्यक्तिलाई बिक्री गरियो । (जनआस्था साप्ताहिकबाट)