‘सरकार र मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेका छन्’

पुस २८, काठमाडौँ–एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र आन्दोलनरत मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले सरकार र मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेकाले देशले निकास नपाएको बताए । ‘बाहिर राष्ट्रवादका कुरा गरेपनि सरकार र मोर्चा दुबै भारतकै योजनामा चलेका छन्’ वैद्यले भने ।
भक्तबहादुर श्रेष्ठको स्मृतिमा भक्तबहादुर स्मृति प्रतिस्ठानले ‘भारतीय नाकाबन्दी र राष्ट्रिय स्वाधिनता’ विषयमा संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष वैद्यले सो कुरा बताएका हुन् । वैद्यले राजतन्त्र ढलेपनि सामन्तवादको अन्त्य नभएकाले नेपाली जनताले पूरानै समस्या भोगिरहेको बताए । उनले अहिलेको समस्यासँग क्रान्तिकारीहरु एकजुट भएर लड्नुपर्ने बताए ।
माओवादी नेता तथा स्मृति प्रतिस्ठानका अध्यक्ष सिपी गजुरेलले भक्तबहादुर श्रेष्ठले नेपाली वामपन्थी आन्दोलनमा ठूलो योगदान पुर्याएको बताउँदै क्रान्तिकारीले भक्तबहादुरको आर्दशलाई अनुसरण गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय जागरण अभियान नेपालका अध्यक्ष डा उपेन्द्र देवकोटाले पकटकपटक समस्या भोगेपनि नेपालीहरु दक्षिणसँग सतर्क नभएकाले अहिलेको समस्या आएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा लिएर मन्त्री बनाइरहेको बताउँदै डा देवकोटाले देशको सबैभन्दा ठूलो घुसखोर प्रधानमन्त्री भएको बताए । ‘प्रधानमन्त्रीले पैसा खाएर मन्त्री बनाउने अभियान रोकिएको छैन । यो देशको मुख्य घुसखोर भनेकै प्रधानमन्त्री ओली जी हुन्’ उनले भने ।
नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य अनिल शर्मा ‘विरही’ले सामन्त राजतन्त्र ढलेपनि पुराना शासकहरुको सोचमा परिवर्तन नआएकाले पूरानै समस्याले घेरिरहेको बताए । विरहीले अधिकारको लागि गरिएको आन्दोलन देशको हितविरुद्धमा नहुने बताए ।
नेकपा ९एमाले०का सांसद लालबाबु यादवले भारतले नेपालको आन्तरिक मामलामा हस्तपेक्ष गरेकाले समस्या पैदा भएको बताए । ‘भारतले नेपालका प्रधानमन्त्रीदेखि सचिवसम्म हस्तक्षेप गरिरहेको छ, नेपालको असल सहयोगीको रुपमा भारत नउभिएकाले देश अनिर्णयको बन्दी भइरहेको छ’ उनले भने ।
नेकपा(क्रान्तिकारी माओवादी)का थारु नेता पट्टु थारुले थारु समुदायले राष्ट्रियताविरोधी आन्दोलनलाई बहिस्कार गर्ने बताए । उनले मधेसको आन्दोलन मधेसी जनताको अधिकारको लागि भएपनि त्यसलाई केही मधेसी नेताले आफ्नो स्वार्थमा उपयोग गर्ने प्रयास गरेको बताए ।
कार्यक्रममा माक्र्सवादी सौन्दर्य चिन्तक तथा प्रतिस्ठानको सदस्य सचिव ऋषिराज बरालले कम्युनिष्टहरुले भक्तबहादुर श्रेष्ठको आर्दशलाई अनुसरण गर्न नसकेको भन्दै सम्पूर्ण क्रान्तिकारीहरु एक ढिक्का भएर क्रान्तिलाई पूरा गर्नुपर्ने बताए । बरालले भक्तबहादुर श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।