रत्नपार्कको चहलपहल घट्यो

–पार्वती थापा मगर
काठमाडौं –राजधानीको रत्नपार्कमा हिजोआज सुनसान देखिन थालेको छ । भारतले लगाएको अघोषित नाकाबन्दीपछि इन्धन अभावले मानिसहरूको चलहलपहल कम भएर रत्नपार्कमा आउनेको संख्या घटेको रत्नपार्क व्यवस्थापन इकाई समितिका सदस्य बताउँछन् ।
सरसफाइ तथा मर्मतका लागि बन्द गरिएको सो पार्कलाई झण्डै डेढ वर्षपछि साजसज्जाका साथ खुला गरिएको थियो । सरसफाइ र मर्मतपछि खुला गरिएको रत्नपार्कलाई सर्वसाधारणले नयाँरूपमा देख्न पाएका थिए । त्यसपछिका दिनमा नयाँरूप हेरेर फोटो खिच्ने, घाम ताप्ने र एकआपसमा भेटघाट गर्ने थलोको रूपमा लिँदै आएका थिए । तर, अहिले उक्त पार्क सुनसान बन्न पुगेकोे अवलोकनकर्ताको भनाइ छ ।
नाकाबन्दीसँगै बढ्दै गएको चिसोले पनि रत्नपार्क हेर्न आउने सर्वसाधारणको चहलपहल घटेको रत्नपार्क व्यस्थापन इकाई समितिका सहायक प्रमुख उमेश भण्डारी बताउँछन् । नाकाबन्दी सुरु भएसँगै घटेको रत्नपार्कको चहलपहल हालसम्म सामान्य बन्न सकेको छैन । सहयक भण्डारीका अनुसार नाकाबन्दीको असरसँगै लगत्तै चिसो बढेकाले रत्नपार्क हेर्न आउने सर्वसाधारणको संख्या घटेको छ ।
घाम लागेको समयमा रत्नपार्कमा केही संख्यामा भएपनि सर्वसाधारण आउने गरेको पाइन्छ । तर, घाम नलागेको समयमा एकदमै कम संख्यामा भेटिन्छन् । पुरुष बढी आउने रत्नपार्कमा मंर्मतपछि पुरुषभन्दा महिला बढी आउने गरेको रत्नपार्क एकाई समितिका एक सदस्यले जानकारी दिए ।
भोजपुरका अभिवियोग राई कोरिया भाषाको तयारीका लागि अहिले रत्नपार्कलाई नै ताक्ने गर्छन् । घरमा बसेर पढ्दापढ्दा दिक्क भएपछि उनी सधै यसैगरी रत्नपार्क गएर अध्ययन गर्ने गर्छन् । ‘बिहान ट्युसन क्लास जान्छु अनि खाना खाएर यही आएर पढ्ने गर्छु, पहिलाभन्दा अहिले सुनसान छ’, उनले भने । अरूलाई सुनसान भएको राम्रो नलागे पनि आफूलाई भने रत्नपार्कको सुनसानले पढ्नमा मद्धत पु¥याएको उनी बताउँछन् ।
नाकाबन्दीअघि रत्नपार्कमा अवलोकन गर्न आउनेको संख्या दैनिक झण्डै नौ सयको हाराहारीमा थियो । तर अहिले उक्त संख्या घटेको छ । हाल ६ सय पनि रत्नपार्क आउँदैनन् ।