स्थायी शिक्षकले जिशिकामा हाजिर गर्दै

पुस २१, काठमाडौँ –स्थायी शिक्षकमा नाम निकालेर पढाउन पुगेका शिक्षकहरुले तोकिएको विद्यालयमा हाजिर समेत गर्न नपाउँदा अहिले जिल्ला शिक्षा कार्यालयमा हाजिर गर्न बाध्य भएका छन् ।
यसै महिनाको १२ गते सरकारले १२० शिक्षकलाई मध्यमाञ्चलबाट मावि तहको दरबन्दीमा नियुक्ति दिएपनि ३८ शिक्षकले विद्यालयमा गएर पनि पढाउन र हाजिर गर्न पाएका छैनन् ।
यसरी आफूहरुले विद्यालयमा हाजिर नै गराउन नपाएपछि उनीहरुले सङ्घर्ष समिति नै गठन गरी प्रक्रियालाई विभिन्न कार्यक्रम गरी अगाडिक बढाएका छन् । सो सङ्घर्ष समितिका संयोजक भोजराज गौतमले अस्थायी शिक्षकलाई विस्थापित गरेर स्थायी राखेका कारण उक्त समस्या आएको बताए ।
अस्थायी शिक्षकले छाड्न नमान्ने र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हाजिर गर्न नदिएको उनले गुनासो गरे ।
विसं २०६३ भन्दा अघिका अस्थायी शिक्षकलाई नहटाइने र त्यसपछि राखिएका अस्थायी शिक्षकको दरबन्दीमा स्थायी शिक्षक आएपनि अस्थायी शिक्षकलाई हटाउन नसकेकै कारण उक्त समस्या झेल्नुपरेको उनको दावी छ ।
‘हामीले जिशिकामा गएर हाजिर गरेपनि त्यो बेतलबी हुन्छ । मेरो काभ्रेमा प्रावि तहमा स्थायी नियुक्ति थियो  तर माविमा नियुक्ति पाएपछि त्यता छाडेर यता आएँ । तर यहाँ यस्तो समस्या भएपछि उता पनि जान सक्दिन र यता पनि बस्न नसक्ने भएँ । म त दोहोरो मारमा परेको छु ।’–उनले भने ।