बालबालिकामा राष्ट्रियताको भावना विकसित हुनु सकारात्मक –राष्ट्रकवि घिमिरे

पुस २३, काठमाडौँ–राष्ट्रकवि माधवप्रसाद घिमिरेले बालबालिकामा राष्ट्रियताको भावना विकसित हुनु निकै सकारात्मक भएको बताएका छन् ।
जर्मन ह्युमनिटरियन इनिसिएटिभ फर साउथ एसिया(साथी) को सहयोगमा नेपाली संस्था लीला–राधिका ह्युमनिटरियन इनिसियटिभ फर सिनियर सिटिजन सेन्टर नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले बालबालिकाले बनाएको चित्रकला हेरिसकेपछि देशको विषम परिस्थितिलाई बालबालिकाले बुझेर राष्ट्रियताको भावना विकसित गर्नु सकारात्मक भएको बताए ।
बालबालिकाले कोरेको चित्रमा भूकम्पले भत्काएको धरहरा, राष्ट्रिय झण्डा, नदी, नाला, हिमाललाई देखेपछि निकै खुशी हुनुभएका राष्ट्रकवि घिमिरेले परापूर्वकालदेखि नै लेखेर भन्न नसकेका कुरालाई पनि चित्रमा अभिव्यक्त गर्ने परम्परा रहेको र अहिले पनि बालबालिकाले आफूले भन्न नसकेका कुरालाई चित्रमा व्यक्त गरेको बताए ।
जर्मनबाट नेपाली बालबालिकालाई चित्रकला सिकाउन आउनुभएका कलाकार कार्ल कुफेलले नेपाली सँस्कृतिलाई बालबालिकाले कसरी बुझिरहेका छन् भन्ने कुरा जान्ने र सोहीअनुसार उनीहरुको सोँचलाई चित्रकलामार्फत् सिकाउने आफ्नो योजना रहेको बताए ।
कार्यक्रममा कलाकार रमेश खनाल, मदन चित्रकार, महेश आचार्य, संस्थाका अध्यक्ष डा धर्मराज भुसालले विदेशी कलाकार आएर नेपाली बालबालिकालाई कलाका बारेमा नयाँ कुरा सिकाउनु अत्यन्त प्रसंशनीय रहेको बताउँदै विभिन्न देशबीच कलाका माध्यमबाट अन्तरसम्बन्ध प्रगाढ हुँदै गइरहेको छ भने  ।
‘डोर फर द फ्युचर चिल्ड्रेन’ अभियानअन्तर्गत कलाकार कुफेल नेपाल आएका हुन् । नेपाली बालबालिकाले बनाएको चित्र जर्मनमा बिक्री भएवापत आएको रकम उनीहरुकै लागि प्रयोग गरिने बताइएको छ ।
चार दिनको उक्त चित्रकला कार्यक्रममा नवलपरासी, पाल्पा, सिन्धुली, दाङ्, सिरहा, बाजुरा, मकवानपुर र काठमाडौँका सात बालबालिका सहभागी छन् ।