एक वर्षमा ३२६ विदेशी निष्कासित

पुस २१, काठमाडौँ –सन् २०१५ मा पर्यटकका रूपमा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न ५१ देशका ३२६ विदेशी नागरिकलाई नेपाल आउन नपाउने गरी सरकारले निष्कासन गरेको छ । तीमध्ये धेरैजसो अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । कानुन मिचेर नेपालमा बस्ने २७५ तथा अन्य विभिन्न फौजदारी मुद्दामा जेल परी छुटेका ६१ विदेशी निष्कासनमा परेका हुन् ।
निष्कासनमा परेकामध्ये धेरै पर्यटक भिसामा नेपाल आई पाँच महिनाभन्दा लामो समय अवैध रूपमा बस्नेहरू रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । अध्यागमन ऐनअनुसार पर्यटक भिसा लिएर आउने विदेशीले नेपालमा एक वर्षमा बढीमा १५० दिनसम्म बस्न पाउँछन् । तर, धेरै विदेशी लुकिछिपी लामो समय बस्ने गरेका छन् । कडा सजाय नहुने भएकाले जानीजानी बस्ने धेरै छन् ।