राजनैतिक दलका नाममा सूचना आयोगको आदेश

पुस १९, काठमाडौँ–राष्ट्रिय सूचना आयोगले निर्वाचन आयोगमा दर्ता भएका १८० वटा राजनैतिक दलको नाममा ३ बुँदे आदेश जारी गरेको छ ।

आयोगले आज पत्रकार सम्मेलनको आयोजना गरी राजनैतिक दलका नाममा जारी गरेको आदेश सार्वजनिक गरेको हो ।

जारी आदेशअनुसार सूचनाको हकसम्बन्धी ऐनको दफा ५ र नियमावलीको नियम ३ बमोजिम २० वटा शीर्षकका राजनैतिक दलको गतिविधि प्रत्येक तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने, आफ्नो दलको सूचना अधिकारी तोकी निजको नाम र सम्पर्क नम्बर तथा फोटो सहितको फ्लेक्सवोर्ड पार्टीको कार्यालयमा सार्वजनिक गर्नुपर्ने र सूचनाको हकसम्बन्धी ऐन र नियमावली बमोजिम सूचना मागका लागि परेको निवेदन र सो उपर भएको कारवाही झल्किने गरी छुट्टै अभिलेख खडा गर्ने र यससम्बन्धी सूचना प्रत्येक तीन÷तीन महिनामा सार्वजनिक गरिने विवरणमा समावेश गरी सार्वजनिक गर्न आदेश जारी गरेको हो ।

आयोगको प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सार्वजनिक निकायको परिभाषाभित्र राजनैतिक दल पनि समेटिएकाले राजनैतिक दलबाट पनि देखिने र अनुभूत हुने गरी सूचनाको हकसम्बन्धी ऐन र नियमावलीका प्रावधानहरुको पालनाका लागि आदेश जारी गरेको बताए ।