कञ्चनपुरमा केराखेतीको बिमा

पुस १९, कञ्चनपुर–जोखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ४३ जना कृषकले केराखेतीको बिमा गरेका छन् ।

यहाँका व्यावसायिक रूपमा केराखेतीलाई अपनाएका भीमदत्त, बेदकोट, पुनर्वास, बेलौरी र कृष्णपुर नगरपालिका क्षेत्रका कृषकले बिमा गरेका हुन् ।

इलम हेल्भेटास स्विस इन्टरकोपरेसन नेपालको सहजीकरणमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यावसायिक केराखेतीको बिमा गरेको हेल्भिटासका इन्टरकोपरेसन अधिकृत टेकबहादुर सिंहले बताए ।

केराखेतीमा हावाहुरी, रोग किरा र अन्य भवितव्यबाट हुने हानिनोक्सानीको ९० प्रतिशत रकम बिमा कम्पनीले उपलब्ध गराउने गरी कृषक र बिमा कम्पनीबीच सम्झौता गरिएको हो । केरा उत्पादक कृषक र बिमा कम्पनीबीच १५ महिनाका लागि केराको बिमा गरिएको छ ।

बिमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ । जसमध्ये जम्मा प्रिमियम शुल्क मूल्य अभिवृद्धिकरसहित पाँच प्रतिशत र किसानले बेहोरेको प्रिमियम शुल्क मूल्य अभिबृद्धि करसहित २५ प्रतिशत रहेको छ ।

केराखेतीको बिमा गरिएको प्रतिबिघा लागत रु दुई लाख ८६ हजार ५०, कठ्ठा लागत रु १४ हजार ३०३ र प्रतिबोट केराको लागत रु १७९ निर्धारण गरिएको छ ।