नियम उल्लङ्घन गर्ने मोटरसाइकल र सहुलियत नदिने सवारी कारबाहीमा

पुस १८, काठमाडौँ–

ट्राफिक नियम उल्लङ्घन गरी मोटरसाइकलमा तीन जना चढेर हिँड्नेलाई कारबाही गर्ने प्रक्रिया तीव्र बनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सडकमा सवारीको सङ्ख्या बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम बढी यात्रु बोक्ने सवारीलाई पुस १२ देखि कारबाही सुरु गरेको थियो । पुस १२ देखि आजसम्म ५०० मोटरसाइकललाई तीन जनाभन्दा बढी बोकेर हिँड्दा कारबाही गरिएको हो ।

यातायात व्यवस्था विभागले पुस ११ गते आयोजना गरेको छलफलपछि पुस १२ देखि कारबाही प्रक्रिया सुरु गरेको महाशाखाले जनाएको छ ।

मोटरसाइकलमा क्षमताभन्दा बढीअर्थात् तीन जनासम्म यात्रु बोकेर हिँड्नेलाई समाएर ऐनमा गरिएको व्यवस्थाअनुसार रु २०० जरिवाना तिराउन सुरु गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

विद्यार्थी सहुलियत नदिने ९८५ सार्वजनिक सवारी र तोकेभन्दा बढी भाडा लिने ट्याक्सीलाई पनि कारबाही गरिएको छ ।

ऐनमा भएको व्यवस्था उल्लङ्घन गर्ने ९०० मोटरसाइकललाई सम्झाएर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । हाल सडकमा ८० प्रतिशत निजी र ६५ प्रतिशत सार्वजनिक सवारी सञ्चालनमा रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

सार्वजनिक सवारीको सङ्ख्या ७० प्रतिशतभन्दा बढ्दै गएपछि ठूला बसको छतमा पनि यात्रु निषेध गरिने भएको छ ।