बेचबिखनमा परेका ३० महिलाको उद्धार

पुस १८, काँकडभिट्टा–

सन् २०१५ मा माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टाले बेचबिखनमा परेका ३० महिलाको उद्धार गरेको जनाएको छ ।

माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले एक वर्षका अवधिमा भारतको कोलकाता, दिल्ली, चेन्नइ, आसाम, बागडुग्रा, सिलगढी र बङ्गलादेशबाट ती महिलालाई उद्धार गरिएको जानकारी दिए ।

सोही अवधिमा माइती नेपालले पूर्वीनाका काँकडभिट्टा हुँदै भारत तथा तेस्रो मुलुक हिँडेका २९५ महिलालाई सम्झाइबुझाई घर फर्काइएको थियो । उद्धार गरिएका अधिकांश महिला भूकम्प प्रभावित क्षेत्र मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र पूर्वी पहाडी जिल्लाका छन् ।

संयोजक घिमिरेले सो नाकाबाट वैदेशिक रोजगारका लागि खाडी मुलुकलगायत अन्य देशमा हिँडेका २१ हजार ३२० महिलालाई परामर्श दिएर सुरक्षित स्थानागमन गराएको बताए ।