काँग्रेसको नेतृत्व सुशील कोइराला गर्दैननः महत

पुस १७, काठमाडौँ–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरणमहतले अब हुने काँग्रेसको महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन, बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले पुरानै नेतृत्व दोहोरिन नसक्ने बताएका हुन् ।

सुशील कोइराला पुनः सभापति हुने सम्भावना नरहेको बताउँदै उनले अर्को विकल्प आउनसक्ने संकेत गरे ।

सहमति बन्ने अवस्थामा नेता शेर बहादुर देउवा र वर्तमान उपसभापति रामचन्द्र पौडेल पनि सभापति बन्ने सम्भावना रहेको नेता महतले बताए । नेता महतले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार हटाउने अभियानमा नलागेको स्पष्ट पारे ।

‘हामी अहिलेको सरकार हटाउने अभियानमा छैनौं, बरु सरकार आफ्नै गतिविधि र बोझले हट्ने सम्भावना म देख्छु’ उनले भने ।

मुलुकको वर्तमान सङ्कट समाधानका लागि सरकार गम्भीर नभएको आरोपसमेत उनले लगाए । वार्ता र सहमतिकै माध्यमबाट समस्याको हल हुनेमा जोड दिदैँ नेता महतले ‘आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गरे ।