गाउँ गाउँको कला प्रदर्शनी

पुस १७, काठमाडौँ –नेपाल कला परिषद्मा चार दिनदेखि चलिरहेको गाउँ गाउँमा कलाको विकास गर्ने उद्देश्यले आयोजित आर्ट वाकाथनमार्फत् सङ्कलन भएका चित्रकला प्रदर्शनी आज सम्पन्न भएको छ ।
ललितपुरस्थित योङ् पिकासो नामक संस्थाको आयोजनामा भएको सो प्रदर्शनीमा ललितपुरका विभिन्न स्थानीय कलाकारको चित्रकलाले स्थान पाएको थियो ।
संस्थाका निर्देशक कलाकार अजय देशारसहित सितु मास्के, तीन वर्षीया कलाकार आशिर्या देशार, बालकिशोर चौधरी, किशोर नकर्मी, राजमान महर्जन, सञ्जय महर्जन, लकस महर्जन, अर्ती चित्रकारलगायतका कलाकारको ५५ चित्रकला प्रदर्शनीमा राखिएका थिए ।
स्थानीय कला, सँस्कृति र परम्परालाई चित्रकलामा उतार्ने र यसबारे सबैलाई जानकारी गराउने उद्देश्यका साथ उक्त आर्ट वाकाथनको आयोजना गरिएको संस्थाका निर्देशक देशारले जानकारी दिए ।
प्रदर्शनीमा राखिएका चित्रकलामा स्थानीय कलाका साथै छरिएर रहेका गाउँ, लोप हुने अवस्थामा पुगेका पुरातात्विक वस्तुलाई देख्न सकिन्छ ।
यो पहिलो चरणको कार्यक्रम भएको जानकारी दिँदै उनले भने–अब हामी काठमाडौँ उपत्यका बाहिर पनि यस्तो कार्यक्रम गर्नेछौँ जसमा लोप हुने अवस्थामा पुगेका कला, सँस्कृति र परम्परालाई कलामा उतार्नेछौँ ।
प्रदर्शनीमा बिक्री भएका चित्रकलाबाट सङ्कलन भएको रकमलाई कलाको विकासमा नै लगाउने उनले जानकारी दिए ।