हवाई मार्गबाट न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह

पुस १७, काठमाडौँ– हिमाली क्षेत्रका भूकम्पपीडितलाई हवाई मार्गबाट न्यानो आढ्ने ओछ्याउने लत्ताकपडा समेतका सामग्री तत्काल उपलब्ध गराउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले विज्ञप्ति जारी गरी भूकम्पपीडितको मानव अधिकारका बारेमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाउँदै  भूकम्प प्रभावित व्यक्तिहरु न्यानो लत्ताकपडा लिनको लागि बजारसम्म जान नसक्ने अवस्थामा रहेका बताइएको छ ।

आयोगको अनुगमनका क्रममा अधिकांश गाबिसका भूकम्प पीडितहरुले सरकारद्वारा वितरित रु.१५ हजार रकम प्राप्त गरिसकेको पाइएतापनि सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा र ललितपुर जिल्लाका केही गाबिसहरुमा अझै पनि उक्त रकम वितरण हुन नसकेको पाइएको छ । सरकारद्वारा भूकम्प पीडितलाई न्यानो कपडा किन्नको लागि रु. १० हजार रकम गाविस मार्फत वितरण प्रक्रिया अगाडि बढाइएको भनिए पनि कतिपय गाबिसमा सचिवको अभाव र कार्यबोझ आदिका कारण तथ्याङ्क सत्यतामा शंका एवं स्थानीय विवाद समेतका कारणबाट अधिकांश पीडितहरुले उक्त रकम अझै प्राप्त गर्न नसकेको आयोगको अनुगमनबाट पाइएको छ ।

टोलीले हालै सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, मकवानपुर, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका भूकम्प पीडितको अवस्थाको बारेमा अनुगमन गरेको छ ।