पूर्वाञ्चल विश्वविद्यालयमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य हुनुपर्ने

पुस १७, काठमाडौँ–सरोकारवालाहरुले पूर्वाञ्चल विश्वविद्यालयमा हुने गरेको अनियमितता र भ्रष्टाचार अन्त्य हुनुपर्ने माग गरेका छन् ।
युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले ४ वर्षमा सकिने इन्जिनियरिङ् अध्ययन ६ वर्षमा पनि नसकिनेलगायतका समस्या रहेको भन्दै ती समस्या समाधान गर्न सुझाव पनि दिएका छन् ।
कार्यक्रममा पूर्वमन्त्री प्रदिप नेपालले विश्वविद्यालयको सूधारका लागि विश्विद्यालयको केन्द्रीय कार्यालयलाई विराटनगरबाट मोरङ्को गोठगाउँमा सार्नुपर्ने सुझाव दिँदै विश्विद्यालयमा कर्मचारी भर्ना गर्दा नियमसङ्गत हुनुपर्ने बताए ।
उनले विश्वविद्यालयको क्यालेन्डर प्रयोग गरी सोहीअनुसार चल्नुपर्नेमा जोड दिँदै विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले विश्वविद्यालयलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने खाँचो औँल्याउँदै त्यस्ता सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए ।
सङ्घका उपाध्यक्ष दिलु पन्तले ९५ प्रतिशत विश्वविद्यालय काठमाडौँ केन्द्रित रहेको बताउँदै गोठगाउँमा २०५ बिघामा रहेको प्रशासनिक भवनमा मेडिकल कलेज सञ्चालन गर्न दिनुपर्ने माग गरिन् ।
कार्यक्रममा विद्यार्थीहरुले गोठगाउँमा रहेको प्रशासनिक भवनमा रहेको करोडौँ पर्ने मेडिकल सामानको व्यवस्थापन गर्नुपर्ने, मापदण्ड बनाएर कर्मचारीको नियुक्ति गर्नुपर्नेलगायतका माग गरेका थिए ।