कर्मचारीकै घरमा कम्लरी

पुस १७, काठमाडौँ – प्रहरी सुरक्षासहित एक टोली बुधबार बिहान नेपालगन्जको बेलासपुरस्थित एउटा सुविधासम्पन्न घरमा पुग्यो । १३ वर्षकी कम्लरी रीता चौधरी बाहिरै काम गरिरहेकी थिइन् । टोलीले उनलाई उद्धार गर्न खोज्यो तर मालिकले दिएनन् । उद्धार टोली कम्लरी मालिकबीच एकघन्टा विवाद चल्यो । अन्ततः टोली त्यतिकै फर्कियो ।

उक्त घर कुनै सामान्य व्यक्तिको नभएर सरकारी निकायकै जिम्मेवार व्यक्तिको थियो । राष्ट्र बैंक नेपालगन्जका जिम्मेवार कर्मचारी गणेशबहादुर मल्लको घर(प्रहरी निरीक्षक भरतसिंह राठौरको ससुरालीमा कम्लरी बसेकी रीतालाई उद्धार गर्न नदिन आफन्तले रोकेका थिए । अरुलाई कानुनको पालना गर्न सिकाउनेले कानुनविपरीत आफैं कमलरी राखेको गल्ती स्वीकार्न उनीहरु तयार भएनन ।

उद्धार टोलीसँग वादविवाद गर्दै प्रहरी निरीक्षक राठौरकी पत्नी विन्दुले रीतालाई आफैंले ल्याएर माइती घरमा कम्लरी राखेको स्पष्टोक्ति दिँदै कसैले उठाएर लैजान नपाउने चेतावनी दिइन् । उनी पनि नेपाल सरकारको व्यवसायिक तथा सीप किवास तालिक केन्द्र नेपालगन्जकी प्रशिक्षक हुन् । उनीहरुको ठाडो अस्वीकार पछि टोलीले रीतालाई उद्धार गर्न सकेन ।

त्यस्तै कठिनाइका कारण बेलसापुरकी अनिता राणाको घरमा बसेकी कम्लरी मिट्ठु चौधरीलाई पनि टोलीले बुधबार उद्धार गर्न सकेन । जिल्लामा कम्लरीको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन ।(आजको नागरिक दैनिकबाट)