अख्तियारको दायरामा गृहमन्त्री बस्नेत

पुस १७, काठमाडौं – भूकम्प पीडितको नाममा भूकम्प नै राम्रोसँग थाहा नपाएका र आफ्ना छोरीलाई चीन भ्रमणमा पठाएका गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई अख्तियारले छानबिनको दायरामा ल्याएको छ ।

भूकम्प पीडितको नाममा एकीकृत नेकपा ९माओवादी० का नातेदार र आफ्नै दुई वटी छोरीलाई चीन भ्रमणमा पठाएपछि पार्टी भित्र र बाहिर नराम्ररी आलोचना खेपेका गृहमन्त्री बस्नेतलाई कारबाही गर्ने उद्देश्यका साथ छानबिनको दायरामा राखेको अख्तियारले जनाएको छ ।

अख्तियारका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार गृहमन्त्री बस्नेतले भूकम्प प्रभावित क्षेत्रमा नागरिक मरिरहेको, राहत नपाएको र पीडितहरू अत्यन्तै दर्दनाक अवस्थामा रहेको वेला त्यही पीडितको नाम बेचेर आफ्ना नातागोतालाई चीन पठाएका थिए ।

चीन पठाउने सूची बनाउन उनको हात नभए पनि अध्यक्ष दाहालकी छोरी रेणु दाहाल र गृहमन्त्री पत्नी एवम् पूर्व मन्त्री सत्या पहाडीको हात रहेको थियो । मन्त्री निवास पुल्चोकमा बसेर रेणु र पहाडीले भूकम्प पीडितको नाममा चीन पठाउने सूची बनाएका थिए ।

गृहमन्त्री बस्नेतले नीतिगत भ्रष्टाचार गरेको भन्दै अख्तियारले चीन भ्रमण प्रकरणको फाइल अध्ययन गरिरहेको र केही दिनभित्रै बयानका लागि बोलाउने तयारी गरिरहेको छ ।

सशस्त्र प्रहरीका उच्च अधिकारीलाई पालैपालो कारबाहीको दायरामा ल्याएर उत्साहित भएको अख्तियारले बहालवाला गृहमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएपछि राजनीतिक वृत्तमा हलचल पैदा भएको छ । गृहमन्त्रीलाई नै कारबाहीको दायरामा ल्याउन लागेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी छ । (आजको जनआवाजबाट)