प्रमले कामभन्दा बढी कुरा गरेर हिंडेको माधव नेपालको आरोप

पुस १६,काठमाडौँ–नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कामभन्दा कुरा बढी गरेर हिडेको आरोप लगाएका छन् ।

कोटेश्वरस्थित आफ्नै निवासमा आज बिहान संचारकर्मीसँगको साक्षात्कारमा आमजनता कालोबजारी र महंगीको मार सहन वाध्य भइरहेका बेला प्रधानमन्त्री ओली भने आश्वासन बाँड्नमा मात्र सीमित भएको आरोप लगाएका हुन् ।

उनले जनतालाई आश्वासन भन्दा परिणाम देखिने काम चाहिएको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए। नेपालले सहमतिका लागि वातावरण बनाउने प्रमुख दायित्व सरकारको हुने भएकाले  प्रधानमन्त्री ओली सहमतिको वातावरण बनाउन क्रियाशील नभएको आरोप समेत लगाए।

उनले ओलीले राष्ट्रको प्रधानमन्त्रीको रुपमा सबैसँग वार्ता र सम्वाद गरी सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनका लागि पहल गर्नुपर्ने बताए।

नेता नेपालले मधेसवादी दलको आन्दोलनका कारण मधेसका जनताले नै सबैभन्दा बढी कष्ट सहनुपरेकाले मधेसवादी दलले तत्काल आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने र प्रदेशको सीमाकंनका विषयमा लचकता अपनाउनुपर्नेमा जोड दिए।