मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मारमा

पुस १६, म्याग्दी–म्याग्दीको मालपोत कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।

सरुवा भएर आउनुपर्ने कर्मचारी नआएको तथा यहाँ दरबन्दी भएका कर्मचारी अन्य जिल्लामा काजमा गएकाले सेवा प्रवाहमा समस्या भएको जिल्ला मालपोत अधिकृत अविनाश कुँवरले बताए।

उनका अनुसार विभिन्न तहका २१ जनाको दरबन्दी भएको कार्यालयमा हाल कार्यालय सहयोगीसहित १० जना मात्रै कार्यरत छन् ।

कार्यालयमा पाँचजना नायब सुब्बा, एकजना लेखापाल, दुईजना खरदार, दुईजना कम्प्युटर अपरेटर, एकजना टाइपिस्टको दरबन्दी रिक्त छ ।

भदौ महिनादेखि कार्यालय लेखापालविहीन छ । कार्यालयमा दरबन्दी भएका तीनजना नायब सुब्बा र दुईजना खरिदार अन्यत्रै काजमा छन् ।

जग्गा रजिस्ट्रेसन, नामसारी, धितो रोक्का, कित्ताकाट र जग्गा घटबढ भएको मिलाउनेलगायतका सेवा प्रवाह गर्न कठिनाइ भएको छ ।

मालपोतमा कर्मचारी नहुँदा दुई घन्टामा हुने कामका लागि तीन दिनसम्म पर्खनुपरेको सेवाग्राही सुविन पुनले गुनासो पोखे ।

मालपोत कार्यालयमा दैनिक ५० जनाभन्दा धेरै सेवाग्राही आउँछन् । दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थाका लागि माथिल्लो निकायमा पहल गरेपनि सुनुवाइ नभएको गुनासो मालपोत अधिकृत कुँवरले गरे।