‘उखान, टुक्का र भाषणले मात्रै राष्ट्रियता जोगिदैन’

पुस १६, काठमाडौँ–नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले उखान, टुक्का र भाषणले मात्रै राष्ट्रियता नजोगिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरेका छन् ।

नेपाल विद्यार्थी संघ नुवाकोट–काठमाडौ सम्पर्क समितिले आयोजना गरेको बीपी, राष्ट्रियता र मेलमिलाप नीतिको सान्र्दभिकता विषयक अन्र्तक्रिया कार्यक्रममा उनले जनताले चरम दुःख पाइरहेको बेला प्रधानमन्त्री समस्या समाधानमा लाग्नुको सट्टा उखान टुक्का र भाषणमै व्यस्त रहेको भन्दै  एकांकी मनोबृत्ति र प्रबृत्तिले राजनीति नचल्ने टिप्पणी गरे ।

उनले प्रधानमन्त्रीलाई ब्यवहार सुधार्न र मधेसी मोर्चालाई आन्दोलनको स्वरुप परिवर्त नगर्न सुझाव दिए । केसीले मधेसको समस्या काँग्रेसको पनि समस्या भएको भन्दै यसलाई समाधान गर्न काग्रेसले पहल लिने बताए ।

काँग्रेसले सत्तामा रहँदा वीपीको विचारलाई कति आत्मसाथ गर्यो भन्ने मुल्याङकन गर्नुपर्ने बेला भएको भन्दै वीपीको सालिकलाई वर्षमा एक दिन माला लगाएर मात्रै वीपीको विचारको कार्यान्वयन नहुने बताए ।

कार्यक्रममा सभासदहरु नविन्द्रराज जोसी, जगदिशनरसिंह केसीलगायतले काँग्रेसले वीपीको विचारलाई पूर्ण रुपमा आत्मसाथ गर्न नसकेको भन्दै वीपीको नीति अहिले पनि समस्या समाधान र मुलुकको हितमा रहेको दावी गरेका थिए ।