नेपाली पोशाक दिवस पुस १७ गते मनाईने

पुस १६,काठमाडौँ–नेपाली कला, सँस्कृति, भाषा र वेशभुषा लोप हुन लागेको भन्दै श्रद्धावान नेपाल नामक संस्थाले नेपाली पोशाक दिवस–२०७२ पुस १७ गते आयोजना गर्ने भएको छ ।
संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा विगत तीन वर्षदेखि अँग्रेजी नयाँ वर्षका दिन नेपाली पोशाक दिवस मनाउँदै आएको जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष स्वामी राजानन्दले विदेशी सँस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली वेशभुषा र सँस्कृतिको जगेर्नाका लागि संस्थाले पुस १७ लाई नेपाली पोशाक दिवसको रुपमा मनाउन लागेको बताए  ।

उनले आधुनिकीकरणको नाममा विदेशी कला, सँस्कृति, भेषभुषा अपनाउँदा नेपाली मौलिकता र पहिचान गुम्दै गएको बताउँदै यसको संरक्षण र सम्बद्र्धनका लागि संस्थाले अङ्ग्रेजी नयाँ बर्षकै दिन नेपाली पहिचान जोगाउन उक्त कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

नेपालमा बहुजाती, बहुभाषी, बहुसँस्कृति र आफ्नै छुट्टै मौलिकता रहेकाले सबै जातजाती र भाषाभाषीका मानिस मिलेर आ–आफ्नो मौलिकपन र राष्ट्रियताको जगेर्नाका लागि सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

पुस १७ गतेका दिन विभिन्न झाँकीका साथ भृकुटीमण्डपमा उक्त दिवस मनाइने छ ।