काठमाडौं, १५ पुस ।
चीनले पुनः अनुदानमा दिन लागेको इन्धन नेपाल आउन दुई महिना लाग्ने भएको छ ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको भ्रमणका क्रममा चीनले थप इन्धन अनुदानमा दिने जनाएको हो ।
अनुदानको थप इन्धन दुइ महिना पछि मात्रै पठाइने सम्बन्धमा मंगलबार बेइजिङमा आयोजित कार्यक्रममा पेट्रो चाइनाले नेपाल आयल निगमलाई जानकारी गराएको हो ।
तिब्बतको सीमा क्षेत्रमा अत्यधिक हिउँ पर्ने, तापक्रम माइनस १० डिग्रीभन्दा तल झर्ने र बाटो पनि हिउँले अवरुद्ध हुने भएकाले आपूर्तिमा ढिलाइ हुने भएको हो । आगामी फागुनको
मध्यभन्दा अगाडि नेपालमा इन्धन पठाउन नसक्ने चीनले स्पष्ट पारेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणको समयमा तत्कालका लागि नेपालले भोगिरहेको संकट टार्न अनुदानमा इन्धन दिन चीन तयार भएको हो ।
चीनले पहिलेकै परिमाण अर्थात १४ लाख लिटर इन्धन दिन सहमति दिए पनि मार्च अगाडि पठाउन नसकिने जनाएको वार्तामा सहभागी नेपाली दूतावासका मिनिस्टर निर्मल काफ्लेले बताए ।