अझै ४६ लाख नेपालीले नागरिकता पाउन बाँकी

काठमाडौँ, १४ पुस ।

नेपालमा अझै ४६ लाख मानिसले नागरिकता नपाएको एक तथ्याङ्क सार्वजनिक भएको छ ।

महिला, कानुन र विकास मञ्च(एफडब्लुएलडि) ले यहाँ सार्वजनिक गरेको ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्तिः अनुमान र प्रक्षेपण’ विषयक पुस्तकमा उल्लेख भएअनुसार नागरिकतासम्बन्धि व्यवस्था स्पष्ट हुन नसक्दा सन् २०१४ सम्म ४६ लाख मानिसले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।

सन् २०११ देखि संस्थाले गर्दै आएको अध्ययनअनुसार उक्त वर्ष नागरिकता नपाउनेको सङ्ख्या ४३ लाख थियो भने सन् २०२१ सम्म यो सङ्ख्या बढेर ६७ लाख पुग्ने अनुमान गरिएको छ । सो अनुमान नागरिकता प्राप्त गर्ने उमेर पुग्ने समूहलाई आधार मानेर गरिएको एफडब्लुएलडिका कार्यकारी निर्देशक अधिवक्त सविन श्रेष्ठले जानकारी दिए ।

प्रत्येक वर्ष नागरिकता प्राप्त गर्ने उमेर समूहलाई प्रस्तुत गर्दै संविधानमा नागरिकतासम्बन्धी भएका प्रावधानले एक–अर्कामा बाझिने भएकाले नागरिकता नपाउनेको सङ्ख्या बढ्ने उनले बताए ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा सबै नेपालीले कानुनी पहिचान प्राप्त गरिसक्नुपर्ने भएकाले राष्ट्रिय योजना आयोगले सोहीअनुसार कार्य गरिरहेको उनले जानकारी दिए ।

एफडब्लुएलडिका संस्थापक अध्यक्ष सपना मल्ल प्रधान र वर्तमान अध्यक्ष मीरा ढुङ्गानाले संविधानमा नागरिकताका सम्बन्धमा महिलालाई पनि अधिकार दिएको, तर त्यसको कार्यान्वयन पक्ष भने फितलो भएको बताए ।