नाका अवरोध हटाउने विषयमा १९ गते निर्णयः ठाकुर

काठमाडौं, १४ पुस ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले १९ पुसपछि मोर्चाले गरिरहेको आन्दोलनको स्वरुप फेरिन सक्ने संकेत गरेका छन् ।

घोषित आन्दोलनका कार्यक्रम १९ पुससम्मका लागि भएकाले त्यसपछि बस्ने मोर्चाको बैठकले नाकाबन्दीबारे पुनर्विचार गर्ने ठाकुरले बताए ।

‘१९ गते मोर्चाको बैठक बस्छ । सो बैठकमा नाकाबन्दी जारी राख्ने कि स्थगित गर्ने भन्ने विषयमा छलफल हुनेछ,’ अध्यक्ष ठाकुरले भने । नाकाबन्दी स्थगित गर्न भारतले आफूहरुलाई कुनै दवाव नदिएको उनको भनाई थियो ।

रिपोर्टर्स क्लवको प्रतिनिधिमण्डलसँगको कुराकानीमा ठाकुरले मोर्चाद्वारा प्रस्तुत ११ बुँदे मागका विषयमा बुँदागत छलफल गर्नुपर्ने बताए ।

‘११ बुँदेका के–के पूरा गर्न सकिन्छ र के–के पूरा गर्न सकिदैंन भन्नेमा सरकारको भनाई आउनुपर्यो,’ उनले भने, ‘तर प्रधानमन्त्री अझै वार्ताप्रति गम्भीर रहेको पाएका छैनौं ।’ हाल संसदमा पेस भएको संविधान संसोधन प्रस्ताव भने आफूहरुले नमान्ने ठाकुरले जनाए ।

सरकारले सिमांकनका विषयमा विश्वासिलो आधार दिएमा आफुहरु त्यसमा पनि लचिलो हुने ठाकुरले संकेत दिए । ‘सिमांकनलाई पछि सारेर छलफल गर्न हामी तयार छौं,’ उनले भने, ‘तर यसका लागि सरकारले स्पष्ट प्रस्ताव ल्याउनुपर्छ ।’