मदीरा नियन्त्रण गरेवापत ट्राफिक प्रहरीलाई नागरिक सम्मान

काठमाडौँ, १४ पुस ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्धको कारवाही र सचेतना अभियानमा महत्वपूर्ण योगदान पु¥याउने महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज नागरिक सम्मान गरिएको छ ।

नेपाल मदिरा नीति सञ्जाल, बालअधिकारका क्षेत्रमा कार्यरत सिविनलगायतले संस्थाले आज यहाँ आयोजना गरेको नागरिक सम्मान कार्यक्रममा प्रमुख ट्राफिक प्रहरी जयबहादुर चन्दलाई सम्मान गरिएको हो ।

चन्दलाई सम्मान गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सवारी चलाउँदा मदिरा निषेध गर्ने ऐन नीति बनाएपनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरे । उनले विभिन्न नेपाली समुदायमा मदिरालाई अनिवार्य गर्ने सँस्कृति रहेपनि विकृति निम्त्याउने त्यस्ता सँस्कृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिए ।

ट्राफिक प्रहरी प्रमुख चन्दले मुलुकको हित विपरित रहेका सँस्कारलाई परिमार्जन गर्नुपर्नेमा जोड दिँदै सवारी चलाउँदा मदिरा निषेध गर्नाले महिला हिंसामा समेत कमी आएको दावी गरे ।

कार्यक्रममा ट्राफिक प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको मदिरा निधेषिक कार्यक्रम र यसको प्रभावकारीताबारे जानकारी गराएका थिए ।

विसं २०६८ देखि सुरु भएको सो अभियानमा अझै दैनिक एक हजार मानिस कारवाहीमा पर्ने गरेको बताइएको छ । सवारी चलाउने क्रममा मदिरा सेवन गरेको भेटिएमा कारवाहीस्वरुप रु एक हजार जरिवाना गर्ने नियम रहेको छ ।