महेन्द्रनगरबाट दिल्लीसम्म सीधा बस सेवा सुरु

महेन्द्रनगर, १४ पुस ।

पश्चिमी सीमावर्ती नेपाली सहर महेन्द्रनगरबाट भारतीय राजधानी दिल्लीसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ ।

दुई देशीय सहमति अनुसार महेन्द्रनगरदेखि दिल्लीसम्म नेपाल भारत मैत्री बस सेवा सञ्चालन गरिएको हो । नेपाल र भारतबीच गत वर्ष गड्डाचौकी सहित चार नाकाबाट मैत्री बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो ।

गड्डाचौकी नाकाबाट महाकाली सेती यातायात वस व्यवसायी समिति र भारतको उत्तर प्रदेश परिवहन निगमले महेन्द्रनगर–दिल्लीका लागि सुविधा सम्पन्न एसी डिलक्स बस सञ्चालन गरेका हुन् ।

महाकाली समितिको बस सञ्चालनका लागि अनुमतिमा ढिलाई भएपछि उत्तर प्रदेश परिवहन निगमको सेवा सञ्चालनमा आएको छ ।

महाकाली सेती वस व्यवसायी समितिका अध्यक्ष नविन भट्टले भारतीय पराष्ट्र मन्त्रालयमा प्रक्रियामा रहेको छिट्टै सेवा सञ्चालनमा आउने बताए । ‘भारतीय राजदूतावासबाट अनुमति पाइ सकेका छौ, परराष्ट्र मन्त्रालयमा प्रक्रियामा छ, छिटो सेवा सञ्चालन गर्छौ’ उनले भने ।