नेपालमा उत्पादित कपडा निर्यातमा भन्सार छुट गर्ने अमेरिकाको निर्णय स्वागतयोग्य–प्रम ओली

पुस १३, काठमाडौँ–नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुट दिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले व्यावसायीलाई यस खाले कपडा र गार्मेन्टको उत्पादन बढाउन आग्रह समेत गरे ।

प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले लामो समयदेखि तराईमा भएको आन्दोलनका कारण बन्द उद्योगहरु खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन समेत दिएका छन् । ‘लामो समयदेखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ । उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउछ’  प्रधानमन्त्री ओली भने ।

कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारका, उद्योग परिसघंका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज बैद्यलगायतले लामो समयको बन्दले उद्योग व्यवसाय चौपट भएकोले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गरेका थिए । व्यावसायीहरुले धरान, उदयपुर,  सिन्धुली सडक पुनर्निर्माण गरेर बैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधनमन्त्रीसँग माग गरेका छन् ।