ग्यालरीमा पुतली नै पुतली

पुस १३, काठमाडौं–पुतलीको सौन्दर्यलाई आफ्नो क्यामरामा कैद गरी देश विदेशमा देखाउने क्रममा भारतीय फोटोग्राफर अजय जादेजाले काठमाडौंस्थित नेपाल कला परिषदको ग्यालरीमा तस्बिर प्रदर्शन गरेका छन् ।

प्रकृतिको अनौठो बरदान मानिने पुतलीको तस्बिरलाई ‘ब्युटि अफ बटरफ्ल्याइ’ शिर्षक दिएर प्रर्दशनी गरिएको छ ।

केहि साताअघिदेखि नेपालमा एकल फोटो प्रर्दशनी गरिरहेका अजयले पुतली जीवन र सौन्दर्यको अनुभुति दिलाउने प्रयास गरेका छन् ।

अजयले अहिलेसम्म १ सय ५० प्रजातिका पुतलीको तस्वीर कैद गरेका छन् । तर, नेपालको प्रर्दशनीका लागि भने उनले ३० प्रजातिका पुतलीको तस्वीर मात्रै ल्याएका छन् । ग्यालरीमा राखिएका तस्वीर नियाल्दा लाग्छ कुनै क्यानभासमा रंग पोतिएको छ ।

पुतलीको प्राकृतिक रंगीन शरिरले नै फोटोको आर्कषण बढाएको छ । प्राकृतिक रंगको सुन्दरता देखाउन अजयले पुतली प्रजातिमाथि फोटो खिचेको महशुस गर्न सकिन्छ । प्रर्दशनी सोमबारसम्म जारी रहनेछ ।