विराटनगर घटनामा सरकारले माफी माग्नुपर्छ— सहअध्यक्ष कर्ण

पुस १२, काठमाडौँ —सदभावना पार्टीले विराटनगरमा आफ्ना अध्यक्ष राजेन्द्र महतोसहित कार्यकर्तामाथि प्रहरीले गरेको कुटपिटको घटनाबारे सरकारले माफी नमागेसम्म वर्तामा नबस्ने  निर्णय गरेको छ ।

शान्तिपूर्ण धर्नामा बसेका महतो र मोर्चाका कार्यकर्तामाथि प्रहरीले दमन गरेर घाइते बनाएको भन्दै सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताएका हुन् ।

सहअध्यक्ष कर्णले सरकारले दमन गरेपनि आफूहरुले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने बताउँदै सरकारले जानाजानी आफूहरुको शान्तिपूर्ण आन्दोलनको दमन गरेर कुटपिटमा उत्रिएको आरोप लगाए ।

शनिवार साँझ विराटनगरको सीमा नाका रानी भन्सारमा धर्ना बस्न गएका अध्यक्ष महतोसहित १० जना कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए ।

सीमा नाकामा अवरोध गर्न बसेका महतोलाई प्रहरीले हटाउने क्रममा जबरजस्ती गरेपछि हस्तक्षेप गर्दा घइते भएका थिए । महतोको टाउको र खुट्टामा चोट लागेको छ। महतोसहित घाइतेहको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

मोर्चाको  आज बस्ने बैठकमा विराटनगरमा सदभावना अध्यक्ष महतोलगायत कार्यकर्तामाथि भएको घटना, कांग्रेस, एमाओवादीसँग भएको वार्ताको विषयमा छलफल हुने बताइएको छ ।